सिलवालको‘सपना र यथार्थमा अमेरिका’ नामक पुस्तक बिमोचित
ईशा अधिकारी,काठमाडौँ।मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले‘सपना र यथार्थमा अमेरिका’नामक पुस्तक बिमोचन गरेका छन्।

अमेरिकामा रहेका गैरआवासीय नेपाली सानुबाबु सिलवालद्वारा लिखित सो पुस्तक शुक्रबार काठमाडौँको वत्तिसपुतलीमा विमोचन गरिएको हो। बिमोचित सो पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय,अमेरिकामा नेपालीहरूको अवस्था,अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर,अर्थ व्यवस्थापन,अमेरिकामा कर,कानुन सम्बन्धी कुराहरू,सडक सुरक्षा र नियम,नेपालसँग अन्तरसम्बन्ध लगायतका विभिन्न विषयहरू समेटिएका छन्।
पुस्तक विमोचन गर्दै अध्यक्ष रेग्मीले अमेरिका लगायत विश्वका जहाँ रहे पनि नेपालीहरूलाई आफ्नो मातृभूमिको माया रहेको कुरा सिलवालले नेपालमा आएर पुस्तक विमोचन गर्नुले पुष्टि गरेको बताए । सत्कर्म,सत्प्रयास,सत् चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने,नेपालीको भलाइका लागि लागिपर्ने सिलवालको प्रशंसा गरेका थिए।
सो अवसरमा पुस्तकका लेखक सिलवालले हाल अमेरिकामा ५ लाख नेपाली रहेको र ती नेपालीहरूको आर्थिक समृद्धिका लागि बाटो देखाउने काममा आफू लागिरहेको बताए । उनले अमेरिकामा अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राती, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको उल्लेख गरे ।
सिलवालले प्रकाशन गरेको सो पुस्तकको मूल्य ५ सय रुपैयाँ रहेको छ ।

