बीरगञ्ज महानगरले ल्यायो दुई अर्ब ८९ करोड बढीको बजेट



बीरगञ्ज।वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख इम्तियाज आलमले शनिबार नगरसभाको १५औँ अधिवेशसनमा सार्बजनिक गरेको चालु आवको भन्दा रु ६२ करोड कम हो।

आगामी आवको बजेटमा चालु खर्चतर्फ रु दुई अर्ब चार करोड ६६ लाख नौ हजार अर्थात् ७० दशमलव सात प्रतिशत,पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८ दशमलव एक प्रतिशत बजेट विनियोजन गरिएको छ । साथै वित्तीय व्यवस्थातर्फ रु तीन करोड ६४ लाख अर्थात् एक दशमलव दुई प्रतिशत विनियोजन गरिएको छ ।

उपप्रमुख आलमले आगामी आवमा आन्तरिक राजस्वबाट रु ७९ करोड ७५ लाख २७ हजार खर्च ब्यहोर्ने बताउनुभयो । सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब २७ करोड ९० लाख नौ हजार, सङ्घीय राजस्व बाँडफाँटबाट रु २६ करोड ८० लाख र प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु पाँच करोड ३५ लाख आठ हजार रकमको स्रोतका रुपमा प्राप्त हुनेछ । त्यसैगरी, प्रदेश राजस्व बाँडफाँटबाट रु दुई करोड २८ लाख, अन्य स्रोतबाट रु दुई करोड ४० लाख र नगद मौज्दातबाट रु १० करोड ब्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

आगामी आवको बजेटको प्राथमिकतामा शिक्षा एवं स्वास्थ्य, सरसफाइ व्यवस्थापन एवं वातारण संरक्षणलाई राखिएको छ । साथै बजेटमा पर्यटन एवं कृषिदेखि गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई उच्च प्रथामिकतामा राखिएको छ ।

महानगरले बजेटमा स्थानीय प्रशासन तथा प्रहरीसँगको समन्वयमा नगरका विभिन्न स्थामा सिसिटिभी क्यामरा जडान गर्ने योजना राखेको छ । साथै ऐतिहासिक लालबङ्गला क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण कार्यको प्रक्रिया अघि बढाइने पनि बजेट वक्तव्यमा उल्लेख छ । महानगरले नक्सापास गर्दा अनिवार्य दुईवटा बिरुवा रोप्ने नीति लागू गर्ने भएको छ ।

आगामी आवको बजेटमा लक्ष्मणवा पार्कलाई ज्येष्ठ नागरिकमैत्री पार्कका रुपमा विकास गर्ने घोषणा गरिएको छ भने कृषि उत्पादन प्रवद्र्धनका लागि स्वरोजगारी कार्यक्रममार्फत बाँझो रहेको सार्वजनिक जमिन एवं बगरमा कृषक समूह गठन गरी खेती गर्न प्रोत्साहन गर्ने भएको छ । रासायनिक मलप्रतिको आकर्षण एवं निर्भरता पनि कम गर्दै लैजाने र सार्वजनिक पोखरी र सिर्सिया नदीको प्रदूषण न्यूनीकरणलाई पनि बजेटमा समावेश गरेको छ । नगरभित्रका सार्वजनिक जग्गा संरक्षणलाई पनि निरन्तरता दिएको छ ।

महानगरभित्र स्थापित उद्योगहरुले आफ्नो श्रमशक्तिको कम्तीमा २५ प्रतिशत रोजगारी महानगरवासीलाई दिएमा त्यस्ता उद्योगको व्यवसाय कर र सम्पत्ति करमा समेत छुट दिने नीति अङ्गीकार गरिएको छ । सङ्घीय सरकारको सहयोगमा महागरमा औद्योगिक ग्राम स्थापना गर्ने कार्यलाई अघि बढानेछ बजेटमा उल्लेख छ ।

महानगरभित्रका मठमन्दिर, विहार र मस्जिदलगायतको संरक्षण र प्रवद्र्धन गर्ने योजना पनि बजेटमा समावेश छ । महानगरले आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रीकृत रुपबाट उपलब्ध गराउने कार्यलाई पनि निरन्तरता दिएको छ । लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्ने, औषधि छर्किेने अभियानलाई पनि बजेटमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्