नेपाल राष्ट्र बैंकद्वारा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक



काठमाडौं।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ ।

यस्तै आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको छ । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १७.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१९४२ अर्ब ४० करोड र अमेरिकी डलरमा १४ अर्ब ५४ करोड रहेको बैंकले जनाएको छ । 

यसबाहेक नेपाल सरकारको खर्च रु.१०५६ अर्ब ८९ करोड र राजस्व परिचालन रु.८३१ अर्ब ९३ करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।  यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.८ प्रतिशतले बढेको भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको पनि बैंकले जनाएको छ । 

यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ । सञ्चार उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ ।

२०८१ वैशाखसम्म काठमाडौं उपत्यकाको वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ४.३०, तराईको ४.३२, पहाडको ४.७० र हिमालको ४.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्