केयूले साधारणीकरण सञ्चार-ढाँचाबारे अन्तर्राष्ट्रिय स‌ङ्गोष्ठीको आयोजना गर्दै



काठमाडौं।काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले आजबाट अन्तर्राष्ट्रिय सङ्गोष्ठीको आयोजना गर्ने भएको छ। ‘साधारणीकरण सञ्चार ढाँचाको दुई दशक’शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्टस् परिसर, हात्तीवन, ललितपुरमा जेठ १३ मा आयोजना हुने अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्ली, भारतस्थित साउथ एशियन युनिभर्सिटी(दक्षिण एशियाली विश्वविद्यालय का कुलपति प्राध्यापक के.के.अग्रवाल प्रमुख आतिथ्यमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक योशिताका माइक मुख्य वक्ता (कीनोट स्पीकर) का रूपमा सहभागी हुनुहुने आयोजक समितिका संयोजक सुधाँसु दाहालले जानकारी दिए।

केयूका उपकुलपति प्राध्यापक भोला थापाले उद्घाटन सत्रको अध्यक्षता गर्ने अन्तर्राष्ट्रिय सङ्गोष्ठी भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीय) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला, एमसीयूकै वर्तमान उपकुलपति प्राध्यापक के. जी. सुरेश, चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कुल अफ पोलिटिक्स एण्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष हान हङ, इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्राध्यापक इदा बागुस पुटु सुअम्बा, भारतस्थित जवाहरलाल नेहरु विश्वविद्यालयको सेन्टर फर मिडिया स्टडिजकी विभागीय अध्यक्ष शुची यादव लगायतले वक्ताका रूपमा सहभागिता जनाउने उनले बताए।

उद्घाटन सत्र, दुई प्लेनरी सत्र, तीन समानान्तर सत्र र समापन सत्र गरी बिहान ८ बजेदेखि दिनभर चल्ने कार्यक्रममा प्रस्तुतिका विभिन्न छवटा विषय/विधा निर्धारित छन् । डि-वेस्टर्नाइजेसन, एसियासेन्ट्रिसिटी एण्ड रिओरियन्टेसन, नाटथशास्त्र एण्ड वाक्यपदीय, वियोण्ड दि बाउन्डरिज, फ्रम एन्सियन्ट विज्डम टु डिजिटल डाइनामिक्स, पर्सुयट अफ सहृदयता र कम्युनिकेसन प्रधाक्सिस यस स‌ङ्गोष्ठीमा प्रस्तुति हुने विधाहरू हुनु। यसअघि प्लेनरी सेसनमा भने टु डिकेड्स अफ दि साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड फ्युचर प्रस्पेक्टस र साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड मल्टिडिसिप्लिनरी डाइनामिक्स विषयमा बृहत् विमर्श गरिने छ ।

गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा गठित मूल समिति तथा त्यस मातहतका १० वटा उपसमितिहरूले आ-आफ्‌नो भूमिका निभाइरहेका छन् । केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्‌गोष्ठी आयोजना गर्न लागिएको हो। उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौं विश्वविद्यालयहरूमा औपचारिक पाठ्यक्रममा समावेश गरी पठनपाठन भइरहेको छ। साथै, यसबारे स्नातकोत्तर तथा पीएचडी तहमा शोधार्थीहरूले थप अनुसन्धान पनि गरिरहेका छन् ।

कार्यक्रममा स्वदेश-विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायत गरी ३६ जनाले सञ्चारको साधारणीकरण ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गर्नेछन् । सङ्‌गोष्ठी ‘हाइब्रिड मोड’ मा मा हुने भएकाले केही प्रस्तोताले भर्चुअल माध्यमबाट र केहीले हात्तीवनमै उपस्थित भएर आ-आफ्‌ना कार्यपुत्र प्रस्तुत दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्