मन्त्री महासेठलाई बालेनले दैनिक एक ट्रक धुलो उपहार पठाउने



काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारकै रिङरोडको धुलोधुँवाका कारण काठमाडौं महानगरले अकारणमा गाली खानु परेको भन्दै काम नहुञ्जेलसम्म अब हरेक दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई एक ट्रक धुलो उपहार पठाउने बताएका छन्।

जनताले मात्रै धुलो खाँदा राम्रो नदेखिने भन्दै मन्त्री महासेठलाई धुलो उपहार पठाउने भिडियो साझा गरे लगत्तै मीनभवनस्थित सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय अगाडि र बबरमहलस्थित सडक विभाग अगाडि कालाेपत्रे सडकमा आज एक/एक ट्रक धुलो खन्याइएको छ ।

बालेनले सामाजिक सञ्जालमा भनेका छन्, ‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहीँ आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाण्डुको जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नुपरेको छ । काठमाण्डुमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ र काठमाण्डु महानगरले अकारणमा गाली खानुपरेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन, जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु । माया सम्झेर स्वीकार्नु होला ।’

प्रतिक्रिया दिनुहोस्