नमुना विद्यालयको नयाँ सुरुवात : हिमाल दर्शनमा उपाध्यक्ष राईसंग विद्यार्थीको सवालजवाफ
डिल्ली शर्मा,सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं ३ मा रहेको एकमात्र पहिलो नमुना विद्यालय श्री हिमाल दर्शन माध्यमिक विद्यालयले नमुना कार्यक्रमको सुरुवात गरेको छ ।

“असल संस्कारयुक्त गुणस्तरीय शिक्षा,हाम्रो प्रतिबद्घता” भन्ने मुल नाराका साथ विद्यालयले बार्षिक कार्यतालिका निर्माण गरि नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष र विद्यार्थीका बीचमा सवाल जवाफ कार्यक्रम सुरुवात गरेको हो।विद्यालयले पहिलो पटक सोमबार आयोजना गरेको सो कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
विद्यालय प्रांगणमा आयोजना गरिएको औपचारिक कार्यक्रममा विद्यार्थीहरुले गाउँपालिका उपाध्यक्ष बिना राईलाई नेचासल्यान गाउपालिकाले स्थानीय पाठ्यक्रम मात्र बनाउने कि पाठ्यपुस्तक पनि विद्यालयमा उपलब्ध गराउने? दिवा खाजामा पन्ध्र रुपैयाले के खाने हो? शिक्षक सरुवाले शैक्षिक उपलब्धी ल्याउन खोजेको हो कि प्रतिशोध साँध्न खोजिएको हो ? बालबालिकाको पक्षमा गाउँपालिकाले किन ठोस कार्यक्रम ल्याउन नसकेको? जस्ता प्रश्न राखेका थिए। विद्यार्थीहरुका सवालको जवाफमा उपाध्यक्ष राईले नेचासल्यान गाउँपालिकाको शिक्षाको सन्दर्भमा आफुले निती तथा कार्यक्रममा बिभिन्न योजना निर्माण गरेको भएता पनि कार्यपालिकाले कार्यान्वनमा चासो नदिएको,निश्चित मापदण्ड निर्माण नगरि शिक्षकको सरुवा गरेको कारण आफु पनि अन्यौलमा रहेको बताएकि थिईन।शैक्षिक सत्रको शुरुवातमा नेचासल्यान गाउँपालिकाले ३५ जना शिक्षकको सरुवाको बिषयलाई लिएर उपाध्यक्षले केहि समय अगाडी एक बिज्ञप्ती समेत जारी गर्दै असहमति जनाएकि थिईन ।
सामुदायकि विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यो कार्यक्रम फलदायी हुने भन्दै विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बाँस्तोलाले शिक्षक सरुवा गर्दा विद्यालयको अबस्था अध्ययन गरेर गर्न सम्बन्धित निकायसंग आग्रह गरे। नयाँ आर्थिक बर्षमा विद्यार्थीका गुनासो सम्बोधन हुनेगरी गाउँपालिकाले कार्यक्रम ल्याउने आशा ब्यक्त गरेका थिए। विद्यालयमा संचालित यस्ता कार्यक्रमले विद्यार्थीलाई स्थानीय सरकारका कार्यक्रम बारे जानकारी हुनुका साथै विद्यालयको शैक्षिक अबस्थाबारे सरोकारवालाहरुलाई बुझ्न सहज हुने भएकोले जनप्रतिनिधिहरुसंग सवाल जवाफ कार्यक्रम बार्षिक कार्ययोजनामा समाबेश गरिएको उनको भनाई थियो।

