बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू



काठमाडौं।नेपाल सरकार गृहमन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था,समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मकवानपुरको हेटौंडामा मंगलबार आयोजित समारोह बिच उक्त गोष्ठीको उद्घाटन गर्नुभयो ।गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा संचालित उद्घाटन शत्रमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले गोष्ठीको उद्देश्यबारे जानकारी दिनुभएको थियो ।

गोष्ठीको उद्घाटन शत्रमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी बिष्णु राउत, गृह मन्त्रालयका पदाधिकारीहरू, बागमती प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी बुधबार सम्पन्न हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्