कान्तिपुरका साहुविरुद्ध पक्राउ पुर्जी, कांग्रेस नेताहरुलाई तनाव



काठमाडौँ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाविरुद्ध नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि नेपाली काँग्रेसका सांसदहरू उनलाई भेट्न पुगेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित कांग्रेस सांसदहरू राजेन्द्र बजगाईँ,दीपक गिरी,राजु थापालगायत थापाथलीस्थित कान्तिपुरको कर्पोरेट कार्यालय पुगेर सिरोहियासंग भेटवार्ता गरेका हुन्।

आजै जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता किर्ते प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो। १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो।

यसअघि, नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले पूर्वाग्रह राखेर कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी हुनु कान्तिपुरको मात्रै लडाइँ नभएर नेपाली कांग्रेसको पनि हुने बताएका छन् ।

धनुषा जिल्ला अदालतबाट मंगलबार सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएसँगै संसद भवन बाहिर सञ्चारकर्मीसँग सांसद पाण्डेले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘अहिलेका नयाँ राजाहरूले आफ्ना विरुद्ध प्रश्न सुन्न नचाहेको, नसकेको र पूर्वाग्रहको आधारमा त्यो गरिएको हो भने त्यो कान्तिपुरको लडाइँ मात्र हुन्न, त्यो सञ्चार जगतको लडाइँ हुन्न, त्यो लडाइँ नेपाली कांग्रेसको पनि हुन्छ भन्नेमा हामी दृढ छौँ,’ पाण्डेले भने ।

पाण्डेले गृहमन्त्री रवि लामिछानेको पनि दुईवटा नागरिकता लिएको विषय बाहिर आएको स्मरण गर्दै सिरोहियाको विषय अनुसन्धानबाट छिनोफानो हुने उल्लेख गर्दै ‘तर पूर्वाग्रह राखेर प्रश्न उठाएकै भरमा प्रश्नको घाँटी निमोठ्न खोजिएको हो भने त्यो सह्य हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्