नेपाल चीन द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुपर्दछ : राप्रपा प्रबक्ता लावती
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुन सुन्दर लावतीले नेपाल चीन सम्बन्ध विश्व भूराजनीति, बहुध्रुवीय शक्ति सन्तुलन ध्यानमा राखेर व्याख्या र विश्लेषण गर्नु मनासिव हुने बताएका छन् ।

‘बहुध्रुव भएको हालको विश्व परिवेशमा चीन शक्ति राष्ट्रको रुपमा उदयीमान छ । यस सन्दर्भ ध्यानमा लिएर नेपाल चीन द्विपक्षीय सम्बन्धको समीक्षा गर्नु पर्दछ,’ राप्रपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख समेत रहेका लावतीले भने ।
राजनीतिक, आर्थिक, सुरक्षा र नेपाल दुई ढुंगाबीचको तरुल भन्ने दर्शनलगायत चार आधार आत्मसात गरेर दुई छिमेकी बीचको मित्रवत र कुटनीतिक सम्बन्ध अघि बढाउनु पर्दछ भन्नेमा उनको जोड थियो ।
कुटनीतिक सम्बन्ध स्थापना भए यताको नेपाल चीन सम्बन्ध समीक्षा गर्ने, सुदृढ भविष्यतर्फ एकसाथ अघि बढ्ने विषयमा काठमाडौंमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै राप्रपा प्रवक्ता लावतीले उक्त धारणा प्रस्तुत गरेका हुन् ।
चीन र भारत विश्व शक्ति राष्ट्रको रुपमा उदयीमान छन् । यस सन्दर्भमा नेपाल दुई ढुंगाबीचको तरुल भन्ने बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्यवाणी आज पनि उत्तिकै सान्दर्भिक छ । यस मानेमा नेपालले, विशेष गरेर नेपालका राजनीतिक दलहरुले यस सवंदेनशीलता सम्बोधन गर्दै आपसी सम्मान, हित र कुटनीतिक मयार्दाका हकमा एकरुपता ल्याउनु जरुरी छ, प्रवक्ता लावतीले भने ।
‘नेपाल र चीनबीच १४०० किलोमीटर लामो सिमाना छ । नेपाल चीनको नजिकको छिमेकी भएको कारण, नेपालको राजनीतिक स्थायित्वले निश्चित रुपमा नेपाल चीन सम्बन्धमा सकारात्मक प्रभाव पार्छ,’ उनले भने ।
नेपाल सरकार सदैव एक चीन नीतिको पक्षपाती रहँदै आएको र राप्रपा पनि यही मान्यतामा अभ्यस्त रहेको उनले बताए ।
अन्य मित्रवत देशहरु जस्तै चीनलाई नेपालमा लगानी र व्यापार गर्न उपयुक्त वातावरण निर्माण गर्नु पर्दछ, यसबाट व्यापार असन्तुलन सम्बोधन हुने र आर्थिक प्रगतिको संभावनाका ढोका खुल्ने उनले बताए ।

