कविता : नियामक
विजय खत्री

उसलाई कहिल्यै थकाई लागेन
अल्छि लागेन
निद्रा लागेन
वसन्त, गृष्म, शरद, शिशीर केही आएन
दशैं आएन, तिहार, तिजमा केही खाएन
दिशा, पिसाब, आँसु, पसिना कहिल्यै देखिन
उसलाई त धन, पैसा, इमान, जमान
बा, आमा नातागोता, साथीसंगी केही नचाहिने
उ त, बडो अजीव छ ।

एक वर्ष हुनै लाग्यो
उसले अझैसम्म तलव मागेको छैन्
नमागेसम्म दिने मेरो चलन छैन्
उ आफ्नो कर्तव्यबाट भागेको कहिल्यै भेटिन
सितल मौसम, न्यानो घाम
चिसो रात अनि उराठ लाग्दो दिन
कतिबेलै उ मातेको भेटिन
न दौडियो, न उफ्रियो, न सुस्तायो
अविरल एउटै लयमा
टक टक हिडिँरह्यो
उ क्या ! अजीव छ ।
उ मेरो नियामक हो
मैले मलाई जति चिनेको छु
त्यो भन्दाबढी उसले चिनेको छ
उसले मेरो शरीरको उचाई नापेको छ
मनको गहिराई भेटेको छ
आँसुको मुहान फुटेकोदेखि
सिरानी भिजि, सुकेको देखेको छ
खुसी फक्रिएको
मेरो सपनाको बगैचा घुमेकोछ
आफै नियम, दैनिकी बनाउँदै
आफै ढलाएको देखेको छ
ऐया ! भन्दै
बिउँभिएको विहानदेखि
रातमा थकाईका सुस्केरा देखेको छ
सबथोक देखेर पनि नदेखेझैं गर्छ
उ त क्या ! समतामा छ ।
आमा ! मेरो बारेमा
सबथोक बुझ्नु छ भने
मेरो कोठामा झुण्डिरहेको घडीलाई सोध्नु
तिम्रो यादमा छट्पटिएको मेरो कथा सुनाउला
कति माना आँसुले आँखाबाट छुटिनुप¥यो
सविस्तार बताउला
मेरो जीवनका हर घटना, परिघटना
पात्रता, चरित्रता र पवित्रता बताउला
म त आफै, आफ्नै भुमरीमा हराएको छु
र त
धेरै पटक म को हुँ भनी AI लाई सोधेको छु
त्यसैले उसैलाई सोध्नु
मेरो दैनिकी भक्कानिँदै ंसुनाउँला
अनुहारमा मुस्कान छरेर
भोलीको सपना सुनाउला
र बिट मार्दै
समय परिवर्तनशील छ नबिर्सिनु भन्ला
र अगाडी बढ्दला टक टक
उ त क्या ! बफादार छ ।
मे ११, २०२४ शनिबार

