थुलुङ दुधकोशीमा फुर्का, धजुरा र सिलाम साक्मा बुनाइ तालिम सुरु



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकामा सात दिने फुर्का, धजुरा र सिलाम साक्मा बुनाइ तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा उक्त तालिम संचालन गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीका अनुसार उक्त तालिमको गाउँपालिका उपाध्यक्ष सविता राईले शनिबार उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दै उपाध्यक्ष सविता राईले तालिममा सिकेको सीपलाई व्यवसायीक रुपमा प्रयोग गरि आय आर्जनमा जुट्न आग्रह गर्नुभयो । स्थानीय उत्पादनलाई जोड दिने गाउँपालिकाको नीति अनुसार भौतिक पुर्वधार निर्माण सङ्गै सामाजिक विकासका कार्यक्रमहरुलाई उत्तिकै महत्त्वका साथ सञ्चालन गरिरहेको भन्दै बढी भन्दा बढी लाभ लिनको लागि उहाँले आग्रह गर्नुभयो ।

यस्तै गाउँपालिका प्रवक्ता भोजराज कार्कीले सीपले हरेक व्यक्तिलाई आत्मनिर्भर बन्न सहयोग गर्ने भन्दै सिकेको सीपलाई व्यवहारमा प्रयोग गरि आय आर्जन वृद्धि गर्न अनुरोध गर्नुभयो ।गाउँपालिकाले यस अघिनै अतिथि सत्कारमा प्रयोग हुने खाता प्रतिस्थापन गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयको लागि यो तालिम कोशेढुङ्गा सावित हुने पालिकाले विश्वास लिएको छ ।
तालिममा पालिका भित्रका ४० जनाको सहभागीता रहेको छ । गाउँपालिका केन्द्रमा संचालित उक्त तालिमको सहजीकरण अरुणादेवी राई, कल्पना राई र गृष्मा राईले गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्