राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सात वटै प्रदेशमा तोकिए निर्वाचन अधिकृत
काठमाडौं।निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले बिहीबार सातै प्रदेशमा १६ गतेदेखि लागू हुने गरी ७ जना निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निवाचन अधिकृत बनेका छन् ।मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी नियुक्ति भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यसैगरी बागमती प्रदेशमा मकवानपुरका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलाले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् ।
प्रवक्ता पौडेलका अनुसार लुम्बिनी प्रदेशमा दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याल निर्वाचन अधिकृत बनेका छन् ।

