माप्यदुधकोशी गाउँपालिकाद्वारा बालकक्षादेखि ५ सम्मका विद्यार्थीलाई नि:शुल्क कापी बितरण
सोलुखुम्बु।जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी बितरण गरेको छ।

गाउँपालिकामा बिहिवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष अध्यक्ष बुद्धिकिरण राईले बालबालिकाहरुलाई कापी हस्तान्तरण गरेका हुन्।गाउँकार्यपालिकाको निर्णय अनुसार बिनियोजित बजेटबाट गाउँपालिका भित्रका सबै विद्यालयमा अध्ययनरत बालकक्षादेखि देखि ५ सम्मका विद्यार्थीहरुलाई कापी हस्तान्तरण गरिएको हो।
माप्यदुधकोशी गाउँपालिकामा ३९ वटा विद्यालय रहेका छन्।कार्यक्रममा उपस्थित सबै विद्यालयका प्रधानाध्यापकहरुमार्फत विद्यार्थीहरुलाई कापी उपलब्ध गराइनेछ। गाउँपालिकाले जनाए अनुसार विद्यार्थीहरुलाई बितरण गरिएको कपीको कभरमा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यका साथै साँस्कृतिक तथा पुरातात्त्विक चित्र अंकित गरिएको छ।
गाउँपालिका केहि समयपछि बालकक्षा देखि ३ सम्मका बालबालिकालाई सिसाकलम समेत बितरण गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए।यस्ता कार्यालयले एकातिर न्यून आयश्रोत भएका अभिभावकलाई राहत पुग्ने र अर्कोतिर बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्न सकिने अध्यक्ष राईको भनाई छ।
विद्यालय शिक्षा सुधार र शैक्षिक गुणस्तर वृद्धिमा आफू सुरु देखि नै क्रियाशील रहेको बताउंदै अध्यक्ष राईले त्यसका लागि आवश्यक लगानी गर्न गाउँपालिका पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे।डिजिटल प्रबिधिमा जोडेर शिक्षण र सिकाईलाई अझ प्रभावकारी बनाउनु पर्नेमा उनको जोड थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरब राई, वडा अध्यक्षहरु तथा शिक्षासेवीहरुको उपस्थिति थियो।

