त्रिभुवन विश्वविद्यालयका १२ हजार चार सय १५ विद्यार्थी दीक्षित



काठमाडौं।त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति प्रचण्डबाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।

त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् ।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राडा शिवलाल भुसालका अनुसार विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले योग्यताका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गरिने बताउंदै राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति हुनका लागि अग्रसर हुन अपील गरेका थिए।

प्रतिक्रिया दिनुहोस्