शेखर-गगन समूहको बैठक सम्पन्न, यी तीन बिषयमा भयो छलफल



काठमाडौं।कांग्रेस नेता डा. शेखर कोईरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका छन्। काठमाडौंमा बुधवार आयोजित संस्थापन इतरपक्षमा भेलापछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उनले काम गर्ने शैली र सोचाई उमेर फरक भएकाले फरक परे पनि पार्टीको एजेण्डामा महामन्त्री थापासँग आफ्नो कुनै फरक मत नरहेको नेता कोइरालाले बताए।

“मेरो र महामन्त्रीबीच कुनै मतभिन्नता छैन,” कोइरालाले भने, “अजेन्डामा महामन्त्री र मेरो कुनै मतभिन्नता छैन। उमेरले गर्दा काम गर्ने शैलीमा केही फरक भएको होला। अजेन्डामा फरक छैनौं।”तीन घण्टा चलेको बैठकमा पार्टी र सरकारका विषयमा छलफल भएको कोइरालाले बताए। “नेपाली कांग्रेस ठीकसँग चलिरहेको छैन, देश पनि ठीक चलिरहेको छैन,” कोइरालाले भने।

आजको बैठकमा तीन वटा विषयमा छलफल भएको महामन्त्री थापाले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भने, “पार्टी नेतृत्व एउटा समूहको संरक्षक जस्तो मात्रै भयो,” थापाले भने।

शेखर-गगन समूहको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा मापदण्ड बनाउनुपर्ने निश्कर्ष निकालेको छ। यसका लागि पहिले अवसर नपाएका,लामो समय पार्टीमा योगदान गरेका नेतालाई उम्मेदवार बनाउनुपर्ने महामन्त्री थापाले बताए।

त्यस्तै, राष्ट्रिय सभाका उम्मेदवारका लागि टिकट वितरण गर्दा न्यायपूर्ण हुनुपर्ने बैठकको निश्कर्ष छ। “आफ्नो पक्षका व्यक्तिलाई टिकट दिने, अरुलाई नदिने गर्नुहुँदैन, न्यायपूर्ण हुनुपर्छ,” महामन्त्री थापाले भने।

त्यस्तै, बैठकले निकालेको तेस्रो निश्कर्ष सुशासनका विषयमा रहेको छ। सरकारले सुशासन कायम गर्न नसकेको शेखर-गगन समूहको ठहर छ। “सुशासनका विषयमा छलफल गरेका छौं, हामी सरकारमा भएका वेला एकपछि अर्को काण्ड आइरहेका छन्,” महामन्त्री थापाले भने, “यो विषयमा दबाब सिर्जना गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेका छौं।”

मुख्य तीन विषय सँगसँगै कांग्रेस महासमितिको बैठक समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको छ। त्यस्तै, समसामियक राजनीतिका विषयमा पनि प्रारम्भिक छलफल भएको थापाले बताए।काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बुधबार बसेको बैठकमा कोइराला र थापा निकट नेताहरू सहभागी थिए। आजको बैठक कोइराला र थापाबीच देखिएको मतभिन्नता हटाउन सहयोगी बनेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्