पृथ्वी जयन्तीमा राप्रपाको कविता प्रतियोगिता, ४० बर्ष नभएकाले मात्र भाग लिन पाउने



काठमाडौं।३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा २७ पुसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।

पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ४० वर्ष पूरा नभएका व्यक्तिले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगीले १५ पुसभित्र कवितासँगै आफ्नो नागरिकताको फोटोकपी पठाउनुपर्नेछ । ५०० शब्दसम्मको कविता इमेल र ह्वाट्सएपबाट पठाउन सकिने वा राप्रपाको धुम्बाराहीस्थित कार्यालयमै आएर पनि बुझाउन सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार र त्यसपछिका ३ जनालाई सान्त्वनास्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिने राप्रपाले जनाएको छ । पुरस्कृत कविताहरु २७ पुसमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वाचन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कविताको मूल्यांकन ३ जना प्रतिष्ठित कविले गर्ने र उनीहरुको नाम २७ पुसमा सार्वजनिक गरिने राप्रपाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्