नेचासल्यानमा एकीकृत पाठ्यक्रममा आधारित पुनर्ताजगी शिक्षक तालिम सम्पन्न



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको समन्वय र रिड नेपालको आयोजनामा ३ दिने एकीकृत पाठ्यक्रममा आधारित पुनर्ताजगी शिक्षक तालिम सम्पन्न भएको छ ।

अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न सो तालिममा नेचासल्यान गाउँपालिकाभित्रका १९ विद्यालयको ६५ जना शिक्षकहरुको सहभागिता रहेको थियो।

समापन कार्यक्रमका प्रमुख अथिति नेचासल्यान गाउँपालिका सामाजिक विकास संयोजक इन्द्रबहादुर राई शान्तले तालिममा सिकेका कुरालाई व्यवहारमा उतादै शिक्षाको जग दरिलो बनाउन कक्षाकोठामा सिकेका सीप पुर्‍याई भरपुर सुधार गर्नुपर्ने बताए।तालिमको महत्व आवश्यकता र व्यहारपयोगी सीपलाई कार्यान्वयन तहमा लैजान गाउँकार्यपालिकाले सबै विद्यालयलाई समान नजरबाट पालिकाले हेर्ने धारणा राख्दै उनले शैक्षिक सुधार गर्न माटो र भूमिको आवस्यकता रहेको विचार व्यक्त गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि नेचासल्यान गाउँपालिका शिक्षा शाखा प्रमुख माधवमणि ढुंगानाले विद्यालयको गुणस्तरीयता कायम गर्दै उपलब्धि स्तर उकास्न तालिम सार्थक रहेको भन्दै सिद्धान्तमा मात्र नभएर व्यवहारमा कक्षाकोठाको घेराभित्र प्रयोगात्मक शिक्षण सिकाइका लागि तालिममा सिकेका कुरा लागू गर्नुपर्ने धारणा राख्दै रिड नेपालले यस्ता तालिम, गोष्ठी, सेमिनारको माध्यमबाट शैक्षिक चेतना फैलाउन सफल रहेको धारणा व्यक्त गरेका थिए ।

तालिमको समापनको क्रममा बोल्दै हिमाल दर्शन माविका प्रधानाध्यापक अशोक कुमार शर्माले तालिम व्यवहारिक र शिक्षण सिकाइ क्रियाकलापमुखी भएको हुनाले कक्षाकोठाभित्र लगेर गुणस्तरीय शिक्षा प्रदान गर्न सहभागीहरुले जरुरी रहेको धारणा राखेका थिए ।

मङ्सिर १७ गतेदेखि १९ गतेसम्म चलेको पुनर्ताजगी कक्षा १-३ का शिक्षक लक्षित तालिमको सहजीकरण रिड नेपालका जिल्ला शिक्षा विकास संयोजक केशवदेव गिरी, शिक्षा अधिकृतद्वय सुजाता राई, अभिशेक विक्रम शाह र तालिम अधिकृत जुनु हिराचनले गरेका थिए भने तालिममा सहभागी शिक्षकहरुले तालिम जीवनोपयोगी, व्यवहारिक, प्रयोगात्मक र विद्यार्थीमैत्री भएको कारण कक्षाकोठा लगेर विद्यार्थी माझ लगेर गुणस्तरीय शिक्षा दिई शैक्षिक उपलब्धि स्तर उकास्न प्रतिबद्ध बन्ने धारणा राखेका थिए ।

तीन दिने पुनर्ताजगी तालिमको उद्देश्य एकीकृत पाठ्यक्रमको अवधारणा अनुसार विद्यालयीय पाठ्यक्रमलाई कार्यान्वयन गरी शिक्षण सिकाइ क्रियाकलापलाई गुणस्तरीय र उपलब्धिमूलक बनाउनु रहेको शिक्षा विकास संयोजक केशवदेव गिरीको भनाइ छ । पाठ्यक्रमका अवधारणा, जीवनोपयोगी सीप, पाठ्योजना निर्माण, शिक्षण अभ्यास, विद्यार्थी सिकाइ मूल्यांकन अभ्यास तथा प्रयोगजस्ता विषयवस्तु आधारित रहेर रही कक्षा १/३ को नेपाली, अङ्ग्रेजी, सेरोफेरो र गणित विषयमा तालिम केन्द्रित रहेको गिरीको भनाइ रहेको छ ।

तालिम हिमाल दर्शन मा. वि. नेचासल्यान-३ को तालिम हलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्