कोशी प्रदेशलाई अरु प्रदेशको ‘गाइड लाईन’ बन्ने गरी अगाडी बढाउनु पर्छ: प्रदेशसभा सदस्य तामाङ
बिराटनगर।प्रदेशसभा सदस्य डोल्मा तामाङले सबै दल इमान्दार बन्ने हो भने अरु सबै प्रदेशलाई गाइड लाइन बन्ने गरी कोशी प्रदेशलाई अगाडी बढ्न सकिने सम्भावना रहेको बताउनुभएको छ।
कोशी प्रदेश आर्थिक अध्यादेश- २०८०लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक-२०८०’ को छलफलमाथी भाग लिंदै नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभामा सदस्य रहनुभएकी तामाङले सो कुरा बताउनुभएको हो।आईतवार बसेको प्रदेशसभा बैठकमा धारणा राख्ने क्रममा तामाङले प्रस्तुत बिधेयकका सम्पूर्ण प्रावधानहरु ब्यबहारिक र आवश्यकीय रहेको धारणा राख्नुभएको थियो।
कोशी प्रदेशको राजनीतिक स्थायित्वका लागि सबै दल एकजुट बन्नु पर्ने आवश्यकता वहाँले औंल्याउनुभयो।संबिधानको धारा १६८ को उपधारा (५) मा उभिएर सरकार बनाउंदा सम्भावित मध्यावधि निर्बाचन तत्कालका लागि टरेकोले गठबन्धनमा प्वाल पार्ने प्रयासका रूपमा यसलाई बुझ्न नहुने बताउंदै तामाङले भन्नुभयो- ‘सबैको पहल र प्रयत्नबाट यो प्रदेशलाई सबै दृष्टिकोणबाट एक नम्बर बनाउन सकिन्छ।’
ब्यबस्था फेरिए पनि अवस्था नफेरिदा संघीयता आवश्यक छैन भन्ने जनमतलाई टेवा पुगिरहेको बताउंदै वहाँले यसलाई चिर्नका लागि जनताको मन जित्ने गरि काम गर्नु पर्ने आवश्यकता वहाँले औंल्याउनुभयो।