नेचासल्यानमा करदाता शिक्षा तथा बायो मेट्ररिक दर्ता सम्बन्धि अभिभुखिकरण सम्पन्न



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।स्वच्छ पारदर्शी र प्रविधि कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन भन्ने मूल नाराकासाथ नेचासल्यान गाउँपालिकामा करदाता शिक्षा तथा बायो मेट्ररिक दर्ता एकदिने अभिभुखिकरण कार्यक्रम नेचासल्यान गाउँपालिकामा सम्पन्न भएको छ ।

नेचासल्यान गाउँपालिका,करदाता कार्यालय ओखलढुंगाको सहकार्य र उद्योग वाणिज्य संघ नेचासल्यानको आयोजनामा सम्पन्न अभिमुखिकरण तालिमको गाउँपालिका अध्यक्ष धनजन राईले शनिबार उद्घाटन गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राईले जनताले राज्यको नियम, विधि र प्रक्रिया अनुसार कानुन सम्मत ढंगबाट कार्यपालिकाले नीतिगत व्यवस्था गरि कानुनी राज्यलाई सम्मान दिनुपर्ने धारणा राखेका थिए। प्रविधिमैत्री, वैज्ञानिक र व्यवस्थित करप्रणाली लागू गरि कानुनी आधारमा आधारित भई तिनै तहको सरकारलाई सहयोग पुर्याउन करदातालाई आग्रह गर्दै समय सापेक्ष करप्रणालीलाई सम्मानजनक हिसाबमा अगाडि बढाउनुपर्ने उनको भनाई थियो।

विशिष्ट अतिथि पालिका उपाध्यक्ष बिना राईले नेचासल्यान गाउँपालिकामा करदाता शिक्षा तथा तेस्रोपटक बायोमेट्ररिक कार्यक्रम संचालन गरेको भन्दै बायो मेट्ररिक दर्ता र करको दायरामा हरेक सम्बद्ध नागरिक आई कर खुशी र स्वविवेकले तिर्न जागरुक हुनुपर्ने भन्दै स्थानीय उत्पादन र उपजलाई निर्यात गरी करको दायरालाई फराकिलो बनाउनुपर्ने धारणा राखेकी थिइन्।

कार्यक्रमको उद्देश्य, औचित्यता, करको उद्देश्य, सीमा क्षेत्र, करदाताका अधिकारहरु, करदाता र आन्तरिक करदाता कार्यालयबिचको सम्बन्ध, समस्या र समाधानका उपायबीचको सह-सम्बन्ध र सहकार्यकाबीचको महत्त्व दर्साउँदै करदाता कार्यालय ओखलढुंगाका कर अधिकृत धिरेन्द्र बस्नेतले कार्यक्रममा उठेका जिज्ञासाको जवाफसहित कार्यक्रम सहजीकरण गरेका थिए ।

उद्योग वाणिज्य संघ नेचासल्यानका अध्यक्ष हेमराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेचासल्यान गाउँ पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेलले प्रसाशनिक तवरबाट स्थानीय जनतालाई करको परिधिभित्र ल्याउन कार्यालयको तर्फबाट प्रशासनिक तथा कार्यालयीय सहयोग रहने बताए । नेचासल्यान गाउँपालिका वडा नं. १,४ र ५ का वडा अध्यक्षत्रय रमेशकुमार राई, इन्द्रबहादुरबहादुर राई (शान्त), राजनकुमार राईले स्थानीय जनताले करको दायरामा आई स्थानीय सरकारलाई सहयोग पुर्याउन आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम उद्योग वाणिज्य संघ नेचासल्यानका सदस्यहरु,स्थानीय सरोकारवालाहरुको बाक्लो उपस्तिथिमा थियो।

प्रतिक्रिया दिनुहोस्