दुर्गा प्रसाईको कार्यक्रम सफल र युवा संघको असफल भएको प्रचार गरिएको महेस बस्नेतको गुनासो
काठमाडौँ।नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले गणतन्त्र विरोधी दुर्गा प्रसाईंलाई एमाले नेता कार्यकर्तालाई छोएर देखाउन चुनौती दिएका छन् ।

एमाले पार्टी कार्यालय च्यासलमा शुक्रवार युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता बस्नेतले बिहीबार प्रसाई समर्थकले हेटौँडा र कलंकीबाट तीनकुने हिँडेका आफ्ना कार्यकर्तामाथि आक्रमण प्रयास भएको भन्दै युवा संघ सशक्त भएकाले प्रतिरोध गर्न सफल भएको बताए । तर दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफूहरुको कार्यक्रम असफल भएको भन्ने सन्देश दिन खोजिएको आरोप उनले लगाए।
युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले साम्राज्यवादीलाई खुशी पार्नका लागि युवा संघ र अनेरास्ववियुलाई कमजोर देखाउन दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफ्नो कार्यक्रम असफल भएको भ्रम फैलाइएको बताए । कार्यक्रममा उनले मुलुकमा साम्राज्यवादी शक्तिहरुले सुँढ पसारिरहँदा उनीहरुविरुद्ध युवा संघ एक्लै लागिरहेको समेत बताए ।
उनले देशको राजनीतिमा साम्राज्यवादीहरुले प्रभाव जमाइरहँदा कांग्रेस, माओवादी, तरुण दल वाईसिएल कहाँ छ ? भनेर प्रश्न समेत गरे ।
‘आज गणतन्त्रमाथि अपराधीहरुले प्रश्न उठाइरहँदा, पुनरुत्थानवादी शक्तिहरु जागिरहँदा, राजतन्त्रका भुतप्रेतहरु यो समाजमा सल्किरहँदा, साम्राज्यवादी शक्तिहरुले यो मुलुकको राजनीतिमा सुँढ पसारिरहँदा तरुण दल कहाँ छ ? कांग्रेस कहाँ छ ? वाईसिएल कहाँ छ ? माओवादी कहाँ छ ?’ उनले प्रश्न गरे,‘एक्लो जिम्मा हामीले लिएका छैनौँ ?’file foto