जातीय विभेद गरेको आरोपमा वडाध्यक्षलाई साढे चार महिना कैद सजाय
पोखरा । आफ्नै वडा सदस्यमाथि जातीय विभेद गर्ने पोखरा महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले साढे चार महिना कैद सजाय सुनाएको छ । सार्वजनिक पद धारणा गरेको व्यक्ति भएकाले थप ५० प्रतिशत सजाय तोकिएको छ ।

पोखरा–२४ का वडाध्यक्ष अधिकारी यसअगाडि धरौटीमा छुटेका थिए । गत माघ ९ गते एक लाख ५० हजार रुपैयाँ तिरेर धरौटीमा छुटेका अधिकारीविरुद्धको मुद्दामा अदालतले बिहीबार उनलाई साढे चार महिना कैदसहित ७५ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।
न्यायधीश अवनी मैनाली भट्टराइको एकल इजलासले पीडित वडा सदस्य मैया नेपालीलाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिराउनसमेत आदेश दिएको छ ।
वडाध्यक्ष अधिकारीले गत वर्ष पुस १८ गते एक सार्वजनिक कार्यक्रममा नै सदस्य नेपालीमाथि जातीय विभेदजन्य गालीगलौज गरेका थिए । त्यसविरुद्ध नेपाली कानुनी प्रक्रियामा गएकी थिइन् ।

