दुर्गा प्रसाईं र युवा संघको प्रदर्शन सुरु,बल्खुमामा दुई पक्षबीच ढुंगा हानाहान
काठमाडौं। काठमाडौंमा प्रदर्शनरत युवा संघ र मेडिकल व्यवासायी दुर्गा प्रसाईं समूहबीच ढुङ्गा हानाहान भएको छ।

आज तीनकुनेमा प्रदर्शन गर्ने भनिएका नेकपा एमाले निकट युवा संघका कार्यकर्ता मोटरसाइकल र्याली गर्दै बल्खु पुगेका थिए।
सोही क्रममा आज बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूह र युवा संघबीच ढुङ्गा हानाहानको अवस्था सिर्जना भएको हो।बयोधा अस्पताल नजिक भइरहेको प्रसाईंको आन्दोलनमा करिब २५० जना र युवा संघकोमा करिब ७० जना सहभागी रहेका छन्।थप विवरण आउन बाँकी छ।
यस अघि नै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आज काठमाडौंमा छुट्टा छुट्टै प्रदर्शन सुरु गरेका थिए। प्रदर्शनका लागि उनीहरूको र्याली निस्किन सुरु भएको छ।
युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको बताएको छ भने महाअभियानले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ। युवा संघले तीनकुने र प्रसाईँ संयोजकत्वको महाअभियानले बल्खुमा प्रदर्शन गर्न लागेका हुन्। तीनकुनेको कार्यक्रममा युवासंघका नेताहरूले सरकार लाचार भएको, महँगी नियन्त्रण गर्न नसकेको, भ्रष्टाचार बढेको, सुशासन कायम गर्न नसकेको जस्ता विषयमा सरकारको विरोध गर्नेछन्।
त्यस्तै, बल्खुमा हुने कार्यक्रममा अभियान्ता प्रसाईंलगायत विभिन्न व्यक्तित्वहरूले सम्बोधन गर्नेछन्। उनीहरूले संघीयता नै खारेज गरी राजतन्त्र फर्काउने सम्मको वकालत गर्दै व्यवस्थाकै विरोधमा खरो रूपमा उत्रिनेछन्।
यसैबीच, दुवै पक्षको प्रदर्शन अनियन्त्रित हुनसक्ने आंकलन गर्दै उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। संभावित जोखिमलाई मध्यनजगर गरी उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना नै लागू गरेको छ। नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी) गठन गरिएको छ।
सुरक्षा योजनाअनुसार आज उपत्यकाभर करिब ७ हजार सुरक्षाकर्मी परिचालन हुने काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिएका छन्।
प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालित हुनेछन्। एकीकृत सुरक्षा योजना अनुसार २ सयभन्दा बढी सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन्।

