नागरिकको स्वास्थ्यप्रति तिनै तहका सरकार गम्भीर बन्नुपर्छ : केन्द्रीय सदस्य शेर्पा
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले स्वास्थ्य सेवा पाउनु नागरिकको मौलिक हक भएको बताउंदै तिनै तहका सरकारले पनि त्यसका लागि आवश्यक जनशक्ति र उपकरणको ब्यबस्थाका लागि गम्भीरतापूर्बक लाग्नुपर्ने बताएका छन्।

ॐ चावहिल डेन्टल हस्पिटलसँगको सहकार्यमा बिपी विचार राष्ट्रिय समाज सोलुखुम्बुले आयोजना गरेको नि:शुल्क दन्त शिबिरको शुक्रबार बिहान उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य शेर्पाले सो कुरा बताएका हुन।शेर्पाले पर्याप्त उपकरण र विशेषज्ञ स्वास्थ्यकर्मी नहुँदा दूरदराजमा रहेका नागरिकहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउँनबाट बञ्चित हुनु परिरहेको सन्दर्भमा यस्ता शिबिरहरुले थोरै भएपनि राहत दिने भन्दै आयोजकलाई धन्यवाद दिएका व्यक्त गरे।
उनलेे नेचासल्यानमा सञ्चालित सामुदायिक अस्पताललाई पालिका मातहत ल्याउन आफुले सहजीकरण गर्ने समेत बताएका थिए।केहि दिन अघि जिल्लाका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति उपलब्ध गराउन आफुले स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई आग्रह गरेको जानकारी गराउँदै उनले तत्काल जनशक्तिको ब्यबस्थापन गर्न नसकिए पनि स्वास्थ्य उपकरण भने उपलब्ध गराउने आश्वासन स्वास्थ्यमन्त्रीले दिएको बताए।मन्त्रालयले उपलब्ध गराउने उपकरण नेचासल्यानका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए।

बिपी विचार राष्ट्रिय समाज सोलुखुम्बुका अध्यक्ष चन्द्र आचार्यको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथि नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईसहित उपाध्यक्ष बिना राई,गाउँपालिका वडा नं-३ का अध्यक्ष सीताराम भट्टराई,नेकपा एमाले गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोला,नेकपा माओवादी केन्द्रका वियस राई र कांग्रेसका दीपक घिमिरेले आ-आफ्ना धारणा राखेका थिए।
दन्तरोग बिशेषज्ञ डा. बिक्रम क्षेत्रीले दाँतमा लाग्ने रोग,रोग लाग्न नदिन अपनाउनु पर्ने सावधानी र उपचारका बिषयमा उपस्थित स्थानीयलाई प्रशिक्षित गरेका थिए।
नेचासल्यान गाउँपालिका-३ स्थित हिमाल दर्शन माविको प्राङ्गणमा बिहानबाट सुरु दन्त शिबिरमा दाँत परीक्षण, सफाई तथा दाँत झिक्ने लगायतका सेवा प्रदान भइरहेको समाजका सदस्य बाबुराम आचार्यले जानकारी दिए।
आचार्यका अनुसार शिबिरमा दांँत झिक्ने र सफा गर्नेको संख्या अधिक रहेको छ।नाम टिपाएका झण्डै ५ सय मध्ये आधाभन्दा बढीले हालसम्म सेवा लिएको आचार्यको भनाई छ।शिबिरमा ॐ चावहिल डेन्टल हस्पिटलका चार दन्त चिकित्सकसहित आठ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्।शिबिर बेलुकी ८ बजेसम्म सञ्चालन हुने बताईएको छ।

