नेताहरुले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण मुलुकमा भ्रष्टाचार र बेथिति बढ्यो : कोइराला
मोरङ।कांग्रेस केन्द्रीय डा. शेखर कोइरालाले मुलुकमा राजनीतिक दलका नेताले पार्टी सिद्धान्त र आदर्शलाई बिर्सिएको बताएका छन्।

विराटनगरमा पार्टीका पूर्वकेन्द्रीय सदस्य हरि न्यौपानेको १३औं पुण्यतिथिका अवसरमा नेताहरूले निष्ठा र आदर्शको राजनीति नगर्दा राजनीतिप्रति जनतामा नैराश्यता छाएको बताए।नेता कोइरालाले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा छाउँदै गएको बताए।
नेताहरूमा सत्तामा पुगेपछि कमाउनुपर्छ भन्ने धारणा बढ्दै गर्दा निष्ठावान् राजनीतिमा समस्या हुँदै आएको उनको भनाइ छ।
राजनीतिमा प्रवेश गर्नेहरूले देश र जनतालाई केन्द्रमा राखेर सेवा गर्नुपर्नेमा जोड दिएका उनले राजनीति पेशा नभएको बताए।
उनले भने, ‘राजनीतिलाई कमाउने थलो बनाउन भएन। पैसा कमाउने हो भने त अन्य पेशा व्यवसाय गर्दा हुन्छ। पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र बेथिति बढ्दै गएको छ।’उनले पूर्वकेन्द्रीय सदस्य न्यौपानेले पद र पैसाको लागि राजनीति नगरेको बताउँदै भावी पुस्ता उहाँबाट राजनीति गर्न सिक्नुपर्नेमा जोड दिए।
कार्यक्रममा मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा भएको थियो।नेपाल विद्यार्थी संघ मोरङको संस्थापक सचिवको जिम्मेवारीवहन गरिसकेका न्यौपाने ०३३ देखि ०३६ सालसम्म केन्द्रीय सदस्य थिए।

