अन्ततः पक्राउ परे कृष्णबहादुर महराका छोरा राहुल
काठमाडौं।अन्ततः त्रिभुवन विमानस्थलमार्फत भएको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

विपक्षी दलहरूको दबाबका कारण उनलाई जोगाउने सरकार प्रयास असफल बनेपछि भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा महरा बुधवार दिउँसो पक्राउ पक्राउ परेका हुन।
पक्राउ पर्नुअघि राहुलले सामाजिक सञ्जालमा लेखेका थिए- ‘कथित ठूलो भनिएको मिडियाले ग्वेयल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोशिश भएकाले स्वयं सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,।’
नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले राहुल महरालाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरी स्रोतका अनुसार करीब ६० किलो सुनकाण्डमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो ।

