सोलुखुम्बुको दिप्लीघाट बेलिबृज तत्काल पुनः निर्माण गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन



काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहालले बाढीका कारण क्षतिग्रस्त सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकास्थित दिप्लीघाट बेलिबृजको पुन: निर्माण तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ।

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री प्रचण्डसंग भेट गरी बेलिबृज पुनः निर्माणका लागि आग्रह गरेपछि भौतिक पूर्बाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई फोन गरि सो निर्देशन दिनुभएको अध्यक्ष राईको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार टोलिमा अध्यक्ष राईसहित महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङ,सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत र थुलुङ दुधकोशी गाउँपालिकाका प्रबक्ता भोजराज कार्की लगायत सहभागी थिए।सो अवसरमा बेलिबृज पुनः निर्माणका लागि आग्रह गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन समेत पेश गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो।

प्रधानमन्त्री कार्यालयबाट भौतिक पुर्बाधार मन्त्रालयमा पठाईएको सो पत्रमा सम्बन्धित कार्यालयलाई तोक आदेश भएको र बांकी काम भोलि हुने अध्यक्ष राईको भनाई छ।

थुलुङ दुधकोशी र सोताङ गाउँपालिका जोड्ने सो बेलिबृज दुधकोशी नदीमा गत बिहीवार आएको बाढीका कारण क्षतिग्रस्त हुन पुगेको थियो।आइतबार प्राविधिक टोलि र सुरक्षा निकाय सहित स्थलगत निरीक्षणमा पुगेर त्यहाँको बास्तविकताको थप अध्ययन,कोशी पारीका नागरिक र करिब ४० भन्दा बढी यातायात व्यवसायीको गुनासो सुनेपछि राती नै आफू गाउँबाट हिंडेर आज बिहान काठमाडौं आईपुगेको वहाँले बताउनुभयो।

बेलिबृजमा भएको क्षतिले कोशी पारिका २१ हजार बढी नागरिकको आवागमनमा उत्पन्न अवरोधको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि म प्रतिबद्ध भएर लागेको छु,- वहाले भन्नुभयो।

प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि देखाउनु भएको तत्परताले बेलिबृजको पुनः निर्माण छिटो भइ विद्यमान समस्या समाधान हुने आशा पलाएको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङको भनाई छ।

प्रतिक्रिया दिनुहोस्