तोकिएको समयावधिमा ‘आन्तरिक बिशेष अभियान’ सञ्चालन गर्न कठिन : कांग्रेस प्रदेश’ख’सोलुखुम्बु
सोलुखुम्बु।नेपाली कांग्रेस प्रदेश ‘ख’ सोलुखुम्बुले पार्टीले राष्ट्रब्यापी रूपमा सन्चालन गरिरहेको ‘आन्तरिक बिशेष अभियान’तोकिएको समयावधिमा सम्पन्न गर्न नसकिने जनाएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका सभापतिलाई पत्र लेखेर प्रदेश ‘ख’ का सचिबद्वय चन्द्र खालिङ राई र भलाकाजी कार्कीले केहि दिनदेखि देशभर परिरहेको भारी वर्षाका कारण विभिन्न स्थानमा गईरहेको वाढी पहिरोले आवतजावतमा असहजता पैदा भएको भन्दै तोकिएको समयावधिमा कार्यक्रम सम्पन्न गर्न नसकिने जानकारी गराएका हुन्।
केन्द्रीय कार्यालयलाई समेतलाई बोधार्थ पठाइएको पत्रमा साउन २ गते ‘निर्देशानुसार कार्यक्रम सम्पन्न गर्नुहुन’ भन्ने ब्यहोराको पत्र प्राप्त भएको उल्लेख गर्दै भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पनि जिल्लामा पहिरोको जोखिम क्षेत्रभित्र दैनिक जनजीवन प्रभावित हुन सक्ने भनि अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको परिप्रेक्ष्यमा उक्त निर्देशानुसार कार्यक्रमहरु सम्पन्न गर्न हाललाई असमर्थ रहेको कुरा जानकारी गराउँदछौँ।’
निर्देशन अनुसार मातहतका तहगत कार्यसमितिसँग आवश्यक समन्वय गरि तोकिएको समयावधिभित्र पार्टीका सबै साथीहरुलाई समेटी निकट भविष्यमा “आन्तरिक विशेष अभियान” अन्तर्गत १८ बुँदामा समेटिएका कार्यक्रमहरु संचालन गर्ने जनाइएको छ।
पत्रमा सम्बन्धित वडा कार्यसमिति, पालिका कार्यसमिति र नगर कार्यसमितिले आ-आफ्ना क्षेत्रभित्र सम्भव भएसम्म पार्टीका कार्यक्रमहरु सम्पन्न गर्न र वाढी पहिरोबाट पीडित र जोखिममा परेका जनतालाई आवश्यक उद्धार र राहत सहयोग गर्न अनुरोध गरेको छ ।

