बाढीपहिरोमा परी दुई महिनामा ४६ जनाको मृत्यु,२९ जना बेपत्ता
काठमाडौं।बर्खाका झन्डै दुई महिनामा मुलुकभर बाढीपहिरोमा परी ४६ जनाले ज्यान गुमाएका छन् । २९ जना बेपत्ता र ५८ जना घाइते भएका छन् । गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार ३१ जेठदेखि २८ साउनसम्म बाढीपहिरोका ६ सय १४ घटना रेकर्ड भएकामा पाँच हजार ६ सय ६८ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले एक सय ५५ घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ६ सय ७९ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोले जलविद्युत् आयोजना, पुल, सडकसहितका भौतिक संरचनाबाहेकमा नौ करोड ८३ लाखको क्षति भएको छ । यस अवधिमा सबैभन्दा बढी प्रभावित ताप्लेजुङ, पाँचथर र संखुवासभा भएका छन् ।

असार पहिलो साताको बाढीपहिरोले तीनवटैै जिल्लामा तीन–तीनजनाको मृत्यु भएको छ । संखुवासभामा मात्र १९ जना बेपत्ता भएका छन् । ताप्लेजुङ र पाँचथरमा तीन–तीनजना बेपत्ता भएका छन् । संखुवासभामा ५३ घरपरिवार प्रभावित हुँदा १२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ताप्लेजुङमा एक हजार चार सय ३२ घरपरिवार प्रभावित हुँदा ३६ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । पाँचथरमा दुई सय ६६ घर प्रभावित हुँदा २२ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् ।
मानवीय क्षतिका हिसाबले सबैभन्दा बढी प्रभावित ओखलढुंगामा पहिरोमा परी चारको मृत्यु भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बाढीपहिरो पीडितको उद्धार र राहतको काम भइरहेको बताए । ‘उद्धारका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालित छन् । जिल्ला विपत् कोषमार्फत राहत बाँड्न हामीले एक अर्ब निकासा गरिसकेका छौँ,’ उनले भने, ‘तत्कालका लागि अस्थायी व्यवस्थापनको काम स्थानीय तहमार्फत भइरहेको छ । अस्थायी आवास निर्माणका लागि हामी बजेट निकासा गर्छाैँ ।’
दुई महिनामा पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । बाढीले १० जनाको ज्यान लिएको छ । पहिरोका चार सय दुई घटनामा नौजना बेपत्ता हुँदा ४० घाइते भएका छन् । एक हजार आठ सय ४२ घरपरिवार प्रभावित हुँदा एक सय ६० घर आंशिक र ६४ घर पूर्ण क्षतिग्रस्त बनेका छन् । पहिरोले मात्र चार करोडको क्षति भएको छ । यस अवधिमा बाढीका दुई सय १२ घटना भएकामा १० को मृत्यु भएको छ, २० बेपत्ता छन् । १८ जना घाइते भएका छन् । तीन हजार आठ सय २६ घरपरिवार प्रभावित भएकामा पाँच सय १५ घरमा आंशिक र ८५ घरमा पूर्ण क्षति भएको छ । बाढीले मात्र पाँच करोड ७७ लाखको क्षति भएको समाचार नयाँ पत्रिका दैनिकमा छ।file foto

