नेचासल्यानले खरिद गर्‍यो कृषि एम्बुलेन्स, कार्यबिधि बनाएर सञ्चालन गरिने



सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको छ।

संघीय सरकारले गरिव कृषकहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरी आत्मनिर्भर शिर्षकमा गत आर्थिक बर्षमा बिनियोजन गरेको बजेटबाट कृषि एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष धञ्जन राईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।गाउँपालिका भित्र उत्पादित कृषिजन्य,फलफूल र मासुजन्य बस्तु बजारसम्म ढुवानी र फर्कंदा किसान र ब्यबसायिक किसानहरुको आबश्यक सामान ढुवानीमा प्रयोग गर्न सकिने बताएका छन्।

अधिकांश स्थानीय तहहरुले खर्च गर्न नसक्दा फिर्ता भएको सो रकम नेचासल्यान गाउँपालिकाले भने सम्बन्धित सबै पक्षसग समन्वय गरी निकै मेहनतका साथ एक रस्टिक स्टोर , एक कृषि फलफूल संकलन केन्द्र,कृषि एम्बुलेन्स र मिनिटिलर खरिद गर्न सफल भएको उनको दावी छ ।

उनले ब्यबसायी र किसानहरुसहितको संयुक्त छलफलबाट सञ्चालन कार्यबिधि बनाइ दीर्घकालीनरुपमा सञ्चालन गरिने जानकारी पनि दिएका छन् ।

आबश्यकता र तथ्यलाई बङ्गाएर सामाजिक संजालमा प्रस्तुत भएको अभिव्यक्ति, बिरोध र सुझावलाइ सम्मान र समिक्षा गर्ने पनि अध्यक्ष राईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘सबैको उद्देश्य समृद्द गाउपालिका निर्माणको पूर्वधार तय गर्ने हो,राईले भनेका छन् -‘काठमाडौको बिकास र नेचासल्यानको पूर्वधार बिकास दाँज्न न्यायोचित नहोला।यस भूगोलमा निजि गाडीहरू गुडेको १०औं बर्ष भयो।’ कृषि एम्बुलेन्स प्राप्त गर्न सफल भएकोमा अध्यक्ष राईले नेचासल्यानबासीलाई बधाई समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्