बजेटप्रतिको असन्तुष्टिले सुदूरपश्चिम सरकार अप्ठेरोमा



धनगढी।बजेट माथिको असन्तुष्टिले चरम रुप लिएपछि २५ दिनपछि बसेको सुदूरपश्चिमको संसद बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ। संसद बैठक असार १ गते बजेट प्रस्तुत गर्दै स्थगित भएपनि २५ दिनपछि सोमबार बसेको थियो।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्न सत्तापक्ष दलले नै समर्थन नगर्ने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकार यतिबेला अप्ठ्यारोमा परेको छ। सोमबार बसेको तीन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेका छन् । सत्तापक्ष दलमा रहेका नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेपछि संसद बैठक ।

आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफ्ना दलका नेतासँग छलफल नगरि तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने सो निर्णयमा उल्लेख छ । नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हष्ताक्षर रहेको निर्णयमा भनिएको छ, ‘जनताको आवश्यकता र औचित्य विपरीत बजेट आएको छ । उक्त बजेटका विषयगत क्षेत्रहरूमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुख दर्शक भएको अनुभूति भएको छ ।’

उनीहरूले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन् । विज्ञप्ति मार्फत भनिएको छ,‘जनता र जनताका जनप्रतिनिधिको भावना समेटेर प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन बजेट संशोधनको प्रक्रिया अगाडि बढ्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गर्दछु ।’

उनीहरूले बजेट संशोधन र समझदारी नभएकोले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्