नेचासल्यान गाउँपालिकाले झण्डै ४७ करोडको बजेट ल्याउने



सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको १३ औं गाउँसभाको पहिलो बैठक शनिबार सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न बैठकमा आर्थिक बर्ष २०८०/०८१ का लागि रू. ४६ करोड ६७ लाख ७१ हजारको बजेट पेश भएको छ ।बैठकमा नीति तथा कार्यक्रम, बिनियोजन ऐन,२०८० र आर्थिक ऐन, २०८० समेत बैठकमा प्रस्तुत गरिएको थियो ।

गाउँसभामा उपाध्यक्ष बिना राईले निति तथा कार्यक्रम,वडा नम्बर २ का अध्यक्ष सिताराम काफ्लेले आर्थिक ऐन, वडा नम्बर १ का अध्यक्ष रमेश राईले विनियोजन विधेयक र वडा नम्बर ४ का अध्यक्षले बजेटको प्ररम्भिक खाका प्रस्तुत गरेका थिए। पुर्ण बजेट असार ३० गते ल्याउने गरि बैठक स्थगित गरिएको अध्यक्ष राईले जानकारी दिए।

गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि गाउँपालिका उपाध्यक्ष विना राईले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा शिक्षा, खानेपानी, स्वास्थ्य, सडक र सुसासनलाई उच्च प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।

नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरुलाई मर्ज गर्ने, विद्यार्थीहरुलाई विद्यालयसम्म पुग्न स्कुल बसको ब्यवस्था गरिने,प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने कुरा समेटिएको छ भने २ बर्ष भित्र घरघरमा स्वच्छ पानी पुर्‍याउनका लागि पिउने पानी बर्ष घोषणा गरिएको छ । सडकलाई १२ महिना नै संचालन गर्नका लागि स्तरोन्नती गर्न आवश्यक उपकरण खरिद गर्ने कुरालाई नीति तथा कार्यक्रममा प्रमुखताका साथ उल्लेख गरिएको छ।

यसअघि बालिका बचत खातामा २ हजार रुपैँया जम्मा गरिँदै आएकोमा अबदेखि ३ हजार थपेर ५ हजार रुपैंया जम्मा गरिने छ भने नेपाल बाहिर बसेका नेचासल्यानका नागरिकलाई पनि बालिका बचत कार्यक्रममा समावेश गरिने कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्