थुलुङ दुधकोशीको वडा नं-७ मा प्लाष्टिक प्याकिङ मदिरा प्रतिबन्धित, यसो भन्छन् वडाध्यक्ष कार्की



सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा प्लाष्टिक प्याकिङ मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।

वडाध्यक्ष भोजराज कार्कीको अध्यक्षतामा वडा भित्रका टोल विकास संस्थाका पदाधिकारीहरुको बिहिबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।बजारमा उपलब्ध प्लास्टिक प्याकिङ मदिरा सस्तो हुने भएका कारण त्यसको प्रयोग अत्याधिक बढ्दा जनस्वास्थ्यमा गम्भीर असर पर्ने र गाउँघरमा झैझगडाका घटनामा वृद्धि भएका कारण बिक्रीवितरणमा रोक लगाउने निर्णय गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

एपल, करोडपति, गोल्डेनवर्क र करिणा लगायतको प्लाष्टिक प्याकिङ मदिरा सस्तो मूल्यमा पाउनुका साथै अल्कोहलको मात्रा समेत बढी हुने गरेको उहाँको भनाई छ । यस्तै सोही बैठकले राती ७ः३० बजे देखि अनाआवश्यक हिड्डुल गर्न नपाउने र राती ८ बजे पछि होटल पसल पुर्णरुपमा बन्द गर्नुपर्ने निर्णय समेत गरिएको वडा अध्यक्ष कार्कीको भनाई छ ।

टोल बिकास संस्था मार्फत पहिलो चरणमा सूचना जारी गरि सबैलाई सचेत गराउने यदि सूचनाको बेवास्ता गरेमा १० हजार जारिवाना देखि स्थानीय सरकारको सेवा सुविधामा समेत रोक लगाउने सम्मको निर्णय गरिएको बताइएको छ । निर्णय कार्यान्वयन गर्नका लागि हरेक टोलमा स्वयंसेवी सुरक्षा दस्ता र अनुगमन समिति गठन गरी हरेक समय गस्ती गरिने वडा अध्यक्ष कार्कीले बताउँनुभयो ।

हालसम्म भए गरेका योजनाको समिक्षा तथा आगामी योजनाको विषयमा छलफल गरेको छ । वडा अध्यक्ष भोजराज कार्कीको अध्यक्षतामा बसेको बैठकले वडा भित्रका टोल विकास संस्थाका अध्यक्ष तथा सचिव बीच उक्त छलफल गरेको हो । यसैबीच, सोही बैठकमा हाल सम्म वडा भित्र सञ्चालित योजनाको विषयमा समेत समिक्षा गरिएको छ । एक वर्षमा वडाभित्र तीस वटा योजना सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्