बागमती प्रदेश सरकारमा थपिए ६ मन्त्री,कांग्रेसबाट ४ र एकीकृत समाजबादीबाट २ जना



काठमाडौं । सत्ता सहयात्री दलहरूसंगको रस्साकस्सीले लामो समयसम्म बिस्तार हुन नसकेको बागमती प्रदेश मन्त्रिपरिषदमा ६ जना मन्त्री थपिएका छन् ।

एकजना बिना बिभागीयसहित कांग्रेसबाट ४ र नेकपा एकीकृत समाजबादीबाट २ सहित ६ जना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद बिस्तार गरेका हुन।

बिस्तारित मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् । कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् ।नव नियुक्त मन्त्रीहरुलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ गराएका छन्।यो संगै बागमती प्रदेश मन्त्रिपरिषद ११ सदस्यीय बन्न पुगेको छ।

यसअघि संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा कांग्रेस सरकारमा गएको थियो।लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका छन् भने तीर्थ लामा खानेपानी मन्त्री छन् । माओवादीबाट मुख्यमन्त्री जम्कट्टेलसहित गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान सरकारमा छन्।

बागमतीमा २०७९ को पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा गठबन्धन बदलिएपछि १३ फागुनमा राप्रपा र १० चैतमा नेकपा एमालेले सरकार छाडेको थियो ।त्यसपछि नेपाली कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । आइतबार मन्त्रालय फोरेर मन्त्री नियुक्त गरेपछि बागमतीको मन्त्रिपरिषद १२ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्