नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उम्काउने कोसिस भइरहेको ओलीको आरोप
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उम्काउने कोसिस भइरहेको बताएका छन् ।

सरकारले बढो भ्रष्टाचार विरोधी च्याम्पियन जस्तो यो प्रकरणलाई उचालिरहेको बताउदैं आइतबार सरकारले ल्याएको नीति तथा कार्यक्रमाथिको छलफलमा सहभागी हुँदै प्रतिनिधिसभामा ओलीले प्रश्न गरे- जेठ १९ कि ३० मा परेको निवेदनअनुसार पक्राउ परेका मान्छे किन छोडियो ? पुलिसले छोडेको होइन । छोड्न लगाइयो, बाध्य बनाइयो । यत्तिकै छुटे मान्छे ?
सो प्रकरणको छानबिनमा हस्तक्षेप नगर्न पनि सरकारसँग आग्रह गरे । उनले भने, ‘म सरकारलाई भन्न चाहन्छु सभामुख महोदय, सरकारले यसमा, मन्त्रीपरिषद्का नेताहरूले हस्तक्षेप गर्नुपर्ने आवश्यकता छैन । प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुस् त ।’
‘केपी ओलीले अर्थोक गर्ला । बाघ भोकै पर्छ, गाँस खाँदैन भन्छन् नि । म्याऊ म्याऊ गर्दैन । र यस भ्रष्टाचारको कारबाहीलाई निष्पक्ष र तटस्थ ढङ्गले कोही पनि अपराधी नउम्कने गरी काम गर्नुपर्छ’ ओलीले भने, ‘कोही पनि दोषी नउम्कियोस्, निर्दोष कोही नफसोस् । फेरि एकपल्ट म दोहोर्याउन चाहन्छु–म तथ्य प्रमाणसहित भन्दै छु–दोषीलाई उम्काउने कोसिस भइरहेको छ ।’
अध्यक्ष ओलीले भ्रष्टाचारका सबै काण्डहरूको छानबिनमा आफ्नो पार्टीले सरकारलाई पुरै सघाउने प्रतिबद्धता समेत व्यक्त गरे । ओलीले नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग समेत गरेका छन् ।
“जनताका लागि नीति तथा कार्यक्रम बनेको छैन । त्यसमा प्रतिपक्ष दल सहयोग गर्नका लागि तयार छ,” ओलीले भनेका छन् ।हामी नीति तथा कार्यक्रम पुनर्लेखन गर्न समय दिन तयार छौँ,’ उनले भने, ‘देशको अर्थतन्त्रलाई अगाडि बढाउने खालको नीति तथा कार्यक्रम ल्याउनुस् ।’
‘यो नीति तथा कार्यक्रमको मिसन छैन,’ प्रधानमन्त्री प्रचण्डलाई उनले भने, ‘प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस् ।’
उनले एमालेले सुरू गरेका कामहरूलाई ‘बाइपास’ गरेको आरोप लगाएका छन् । वर्तमान सरकारले इतिहासमाथि पनि दुश्मनी साँधेको उनले बताएका छन् । “धरहरा शानदारका साथ उभिएको छ । धरहरा मैले बनाएको होइन, इतिहासले निर्माण गरेको छ । धरहरासँग तपाईंहरूको दुश्मनी किन ?,” ओलीले सोधेका छन् ।

