सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि आइतबारदेखि छलफल हुने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम ल्याएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।सरकारले ल्याएको निति तथा कार्यक्रममा उच्च पदस्थ लगायत जो कोहीले आर्जन गरेको गैर कानुनी सम्पत्ति छानबिन गरिने स्वदेशी उत्पादनलाई उपयोग तथा प्रबर्द्धन गर्ने,देशका सातै प्रदेशमा टेलिमेडिसिन स्थापना गरिने,आगामी दुई बर्षमा सबै घरमा बिजुलि पुर्‍याइने,नवप्रबर्तन,अनुसन्धान तथा आविष्कार कोष स्थापना गर्ने, निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउने, विद्यालयका बालबालिकाहरुको दिवा खाजा बढाउने, निजगढ विमानस्थलको निर्माण अघि बढाइने, नयाँ हिमाल आरोहण खुल्ला गरिने,९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने ब्यबस्था मिलाईने लगायत उल्लेख छ।

प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभएको थियो ।

बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफल गर्नका लागि यही जेठ ७ देखि ११ गतेसम्म तोक्नुभएको छ । छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा नाम बुझाउनुपर्ने छ । सभामुख घिमिरेले राष्ट्रियसभाको बैठकबाट सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिमा रहने तीन सदस्यको नाम मनोनयनसम्बन्धी सन्देशको जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्