को हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी नेता टेकनाथ रिजाल ?



काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेको प्रहरीले भुटानी प्रजातन्त्रबादी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ।

यही प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई मुछेपछि उनलाई काठमाडौ प्रहरी परिसरको टोलिले बिहिवार काठमाडौंबाट पक्राउ गरेको हो।राईले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेको श्रोतको भनाई छ।

नेपाली मूलका भुटानीहरूलाई भुटान सरकारले देश निकाला गरेपछि उनीहरूको मानव अधिकारको पक्षमा वकालत गरेपछि सरकारी निगरानीमा परेका रिजाल २०४५ सालमा भारतको आसाम हुँदै नेपाल प्रवेश गरेका थिए। उनी नेपालमा लुकेर बसेकाे अवस्थामा २०४६ साल माघमा झापाकाे विर्तामोडबाट पक्राउ गरी सरकारले गुपचुप रूपमा भुटान फर्काएको थियो।त्यसपछि भुटानमा १० वर्ष जेल जीवन बिताएर उनी सन् २०५६ सालमा छुटेका थिए।

२००४ फागुन १३ गते दक्षिण भुटानको लामीडाँडामा जन्मिएका रिजाल राजनीतिमा सक्रिय भएपछि सोही क्षेत्रबाट चुनाव जितेर डेढ दशक सेवा समेत गरेका थिए। उनी भुटान पिपुल्स पार्टीको अध्यक्ष समेत हुन्।

२०६४ देखि नेपालमा रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनःस्थापना गर्न थालिए पनि रिजाल भने नेपालमै रहेका थिए । पक्राउ परेका रिजालमाथि आज बिहीबार नै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । आजमात्रै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्