दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण
नरैनापुर। बाँकेको नरैनापुर गाँउपालिका –१ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय महतिनियाँमा शैक्षिक सामाग्री वितरण गरिएको छ । एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोरनिया,अमेरिकाको सहयोग र देवराली फाउण्डेसनको सहकार्यमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने गरी कपि बितरण गरिएको देवराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिनुभयो।विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले विद्यार्थीलाई विद्यालयबाट नै नैतिकताको शिक्षा सिकाउन आवश्यक रहेको बताउनुभयो । ‘सबैभन्दा पहिला शिक्षकबाट नै विद्यार्थीलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘गाउँपालिका भित्र नीति नै बनाएर विद्यालय सुधारको योजना अघि बढाउने तयारीमा छौ ।’अध्यक्ष शाहले नरैनापुरमा आएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्त्रण गर्नु हुने एनआरएनए र देवराली फाउण्डेशनलाई धन्यबाद दिदै नरैनापुरको शिक्षाको स्तर माथि उकास्नतर्फ भूमिका खेली दिन आग्रह गर्नु भएको थियो ।
एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरिकाका अध्यक्ष माधव मरासिनीले हालसम्म शैक्षिक सामग्री नपाएका गरिब बिधार्थीलाई पठनपाठनमा सहजता ल्याउन र शैक्षिकस्तर उकास्न सहयोगस्वरुप देशकै उत्कृष्ट नरैनापुर गाँउपालिकाको वडा नं. १ को विद्यालयमा शैक्षिक सामग्री उपलब्ध गराइएको बताउनुभयो । उहाँले नरैनापुरको शैक्षिक स्तर माथि उकास्नका लागि भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अधयक्षतामा भएको कार्यक्रममा देवराली फाउण्डेशनका अध्यक्ष भिम पौडेल, विद्यालयका प्रधानाध्यापक आयोधिया प्रसाद विश्वकर्मा, वडा सदस्य ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

