‘भन्नेछौं हामी बारम्बार,भ्रष्टाचारीलाई कारागार’ भन्दै राजधानीमा बृहत प्रदर्शन
काठमाडौं। भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत नागरिक आन्दोलन सुरु भएको छ। शनिबारमात्रै राजधानीको माइतीघर र नारायण चौर नक्सालमा भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत प्रदर्शन भएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लग्ने भन्दै करोडौं रकम ठगी गरेको घटना बाहिर आएको छ। जसमा उच्च राजनीतिक व्यक्तित्वहरू समेतको संलग्नता देखिएको छ।प्रहरीले यस घटनामा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १२ जनालाई पक्राउ गरिसकेको छ।
यसरी उच्च राजनीतिक व्यक्तित्वबाटै भ्रष्टाचार भएको घटना बाहिरिएसँगै काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा पछिल्लो समय प्रदर्शन भइरहेका छन्।
यस प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, डा. गोविन्द केसी लगायत उपस्थित छन्। प्रदर्शनमा ऐक्यबद्धता जनाउन रास्वपा सभापति रवि लामिछाने पनि सहभागी भएका छन्।‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘टोपबहादुर कि टापबहादुर’, सरकार ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो?’ लगायतका नाराहरू सहित उनीहरूले प्रदर्शन गरेका हुन्।
उता,नक्साल नारायणचौरको नागरिक आन्दोलनलाई सम्बोधन गर्दै वरिष्ठ चिकित्सक डा गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए।उनले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले सरकारले शीर्ष नेताहरुको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने माग गरे।
ठूला नेताहरु भ्रष्ट नभइकन साना तहका नेताहरुले भ्रष्टाचार गर्न हिम्मत नगर्ने उनको भनाइ छ। उनले भने, ‘भूटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन। छानबिन विस्तृत हुनुपर्छ, निष्पप्क्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुनुपर्छ। देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ। शीर्ष नेता भ्रष्ट नभइकन उ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ। निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ। प्रचण्डको पार्टीलाई भाग नपुगेको हो की के हो? तर सबै पार्टी भ्रष्ट नै छन्।’

