देशका शासक र प्रशासकप्रति आम नागरिकमा चरम अविश्वास बढदो छ : शेखर कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर देशका शासक र प्रशासकप्रति आम नागरिकमा चरम अविश्वास बढदो रहेको टिप्पणी गरेका छन्।

कोइरालाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत सो टिप्पणी गर्दै दशकौँ संघर्ष गरेर ल्याइएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारिएको आरोप समेत लगाएका छन्। उनले भनेका छन्, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करीजस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौँ। तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’
यो देशका शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदो रहेको उल्लेख गर्दै उनले दशकौँ संघर्ष गरेर ल्याइएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारिएको आरोप लगाएका छन्।
उनले अगाडि भनेका छन्, ‘अब समय आएको छ– भ्रष्टाचारविरुद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने।’

