नेपालीले अब आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्नुपर्छ : पूर्बराजा ज्ञानेन्द्र



नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार नेपालगञ्जमा सम्बोधन गर्दै राष्ट्रको पुरानो गौरव फर्काउन उठ्नका लागि सबैसँग आह्वान गर्नुभएको छ । उहाँले नेपालीले अब आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्नुपर्ने उल्लेख गर्दै यसका निम्ति सबै तहका नागरिकहरुले जुट्नुपर्ने पनि उल्लेख गर्नुभयो ।

पूर्वराजा शाहले नेपालगञ्जजस्तो ऐतिहासिक, औद्योगिक र व्यापारिक महत्त्वको स्थानमा आएर बोल्न पाउँदा खुसी लागेको पनि बताउनुभयो । बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको भूभाग परिवन्दले हामीबाट केही समय गुमेपनि कालान्तरमा त्यो हामीभित्रै समाहित भएको स्मरण पनि पूर्वराजा शाहले गर्नुभयो । उहाँले भन्नुभयो– ‘त्यो हाम्रो गौरवको विषय हो । हामी नेपाली, हाम्रो माटो र हाम्रो भूखण्डमा हाम्रो अपनत्व राख्दछौं र त्यसमा गर्व गर्दछौं । यस्तो गौरबको गति हामीले सदा राख्नुपर्दछ । हाम्रो यही मान्यता हो ।’ नेपालगञ्जमा पाइला टेकेपछि आफूलाई आस्थाको पवित्र मन्दिर बागेश्वरीको याद आएको पनि बताउनुभयो ।

उहाँले चौसठ्ठीबर्ष अघि यही भूमीमा उभिएर राजा महेन्द्रले नेपालको तत्कालीन राज्यविधिका बारे–नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन भएको स्मरण पनि गर्नुभयो । ‘लामो अन्तरालपछि फेरि पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु । मलाई दुःख लाग्छ – यो लामोअवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ ।’

उहाँले आफ्नो नारा जहिले पनि देश बनाउँ— देशवासीको अवस्था सुधारौं, व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ भन्ने रहेको पनि बताए। नीतिहरूमध्येको सर्वश्रेष्ठ नीति राजनीति भए पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी,जनमुखी र जनहितकारी हुन नसकिरहेको पनि पूर्वराजा शाहले स्मरण गर्नुभयो । ‘हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो — तर बिडम्बना भन्नुपर्छ — हाम्रो राजनीति तथा हाम्रो राज्यव्यवस्था नेताद्धारा नेताका निम्ति — दलद्धारा दलका निम्ति भइरहेको छ,’ उहाँले भन्नुभयो ।

विक्रम सम्बतको दुई हजारको दशकदेखि चालीसको दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविश्य सुधारका धेरै निर्माण संरचना तथा विधिप्रकृयाका कामहरू भएको स्मरण पनि उनले गरे। महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा शहरी विकास –शिक्षा तथा स्वास्थ्य केन्दको स्थापना, मूलुकी ऐन,भूमी सुधार, ग्रामिण उत्थान, नेपाल राष्ट्र बैक, राष्ट्रिय योजना आयोग, त्रिभूवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वबिद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनीविकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि भएको पनि पूर्वराजा शाहले स्मरण गर्नुभयो ।

‘सबैसँग मित्रता, सबैसँग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्तराष्ट्रसंघको सदस्यता देखि लिएर असंलग्न आन्दोलनको सकृय भूमिकार शान्ति क्षेत्रको घोषणा सम्म पनि यसै अवधिमा भएको हो । तर यता आएर – ती पुर्वाधार – ती औद्योगिक आधार– ती सबै खाले चेतनालहरले निश्चितआकार लिन सकेको छैन,’ उहाँले भन्नुभयो ।

‘हाम्रो प्रकृति,हाम्रो श्रमशक्ति र हाम्रो बुद्धि गरिब छैन–गरिबी हाम्रो नियति बनेको छ । दुई छाक खान र एक धरो लाउन हामी धेरैलाई धौ धौ छ । हाम्रा विकसित शहरहरू, गाउँहरू आज उजाड छन् । हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेका छन –त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण विदेशिन बाध्य छन्,’ उहाँले भन्नुभयो ।

उहाँले नेपालगञ्ज जस्तो पूरानो उन्नत आर्थिक केन्द्रस्थलमा उभिएर हामी आजको कटु यर्थाथ देख्न, भोग्न र भन्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘अब म भन्छु –अबहामीराष्ट्रको पुरानो गौरब फर्काउनकालागि उठौं र हामीहाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं ।यसको निम्ति के पुरुष, के महिला, के आजकाजाँगरिलो युवा, के अनुभवि बुढाबुढी सबै अब जुट्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्