हिमाल दर्शन माबि ब्यबस्थापन समितिका लागि दलीय भीडन्त : एमालेको जीत, कांग्रेस -माओवादी पराजित



डिल्ली शर्मा,सोलुखुम्बु।नेचासल्यानको हिमाल दर्शन माबि ब्यबस्थापन समितिको सदस्यमा एमाले निकट अभिभावकहरुले बाजी मारेका छन् ।बुधबार सम्पन्न निर्बाचनमा कांग्रेस निकट उम्मेदवारहरुलाई पराजित गर्दै एमाले निकट अभिभावकहरुले बाजी मारेका हुन्।

गाउँपालिका शिक्षा ऐनमा भएको ब्यबस्था अनुसार बुधबार तीन जना सदस्यको निर्बाचन भएको थियो।निर्बाचनबाट ओमप्रसाद बास्तोला,नवराज जम्मरकट्टेल र एलिना राई सदस्यमा निर्बाचित भएका छन् ।एमाले निकट रहेका बास्तोलाले १६१,जम्मरकट्टेलले १४८ र राईले १३९ मत प्राप्त गरेका थिए।

जम्मा २७९ मत खसेकोमा कांग्रेस-माओवादी केन्द्र संयुक्त प्यानल निकट उम्मेदवार गुणराज राउतले १०३,लालश्वर राईले १०१ र डुकाकुमारी आचार्यले १२१ मत मात्र प्राप्त गरेका छन्।विद्यालय ब्यबस्थापन समितिको निर्बाचन भएपनि गाउँपालिकाले संघीय शिक्षा ऐनको प्रतिकुल हुने गरी गाउँपालिका शिक्षा ऐन संशोधन गरेपछि यसपटकको निर्बाचनमा तीब्र दलीय प्रतिस्पर्धा भएको स्थानीय बुद्धिजीवीको प्रतिक्रिया छ।

विद्यालय ब्यबस्थापन समितिम आफ्ना कार्यकर्ताको ब्यबस्थापनका लागि पालिका नेतृत्वले घुमाउरो बाटो अबलम्बन गरेर शिक्षा ऐन परिमार्जन गर्दा यसले विद्यालयलाई राजनीतिक अखडामा परिणत गर्ने खतरा पैदा भएको आज सम्पन्न निर्बाचनले नै पुष्टि गरेको छ। सम्पन्न निर्बाचनमा घोषित रुपमै दलगत प्यानल बनाएर एमाले र कांग्रेस- माओवादी केन्द्र गठबन्धनले ब्यबस्थापन समिति सदस्यका लागि आ-आफ्ना उम्मेदवार बनाएका थिए।

गाउँ शिक्षा ऐनमा तीनजना सदस्यलाई अभिभावकले प्रत्यक्ष निर्बाचन मार्फत निर्बाचित गर्ने,निर्बाचित तीन जनाले एकजना दलित सदस्य मनोनीत गर्ने र गाउँपालिकाले दुई जना सदस्य मनोनीत गर्ने ब्यबस्था गरिएको छ।यसरी कुल ६ सदस्यले निर्बाचित सदस्यमध्येका १ जनालाई अध्यक्षमा चयन गर्नेछन्।

यो प्रावधान अनुसार हेर्दा आज सम्पन्न निर्बाचनको परिणामले सो विद्यालयको ब्यबस्थापन समिति अध्यक्ष एमालेले पाउने करिब निश्चित देखिएको छ।

प्रतिक्रिया दिनुहोस्