साइबर सुरक्षाका लागि आवश्यक नीति निर्माणलाई प्राथमिकता : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन्।

“सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाउन थालिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन।
सार्बजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेको उल्लेख गर्दै उनले सन्देशमा सञ्चार क्षेत्रको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क, २०७६ कार्यान्वयनमा ल्याएको स्मरण गर्दै प्रचण्डले साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति नियम र संरचना बनाउने कार्यलाई प्राथमिकता दिइएको बताए । file foto

