उफ ! भविष्य



  • गार्डेन राई

जब म बिहान ब्युँझिएर पहिलोपल्ट आँखा खोल्छु, उसले मलाई जिस्काइरहेको हुन्छ । उसलाई वास्ता नगरी फेरि जबरजस्ति निदाउँन खोज्छु । अहँ, पटक्कै निदाउँन दिँदैन मलाई ।

सात–आठ घन्टा निदाए पनि बिहान पहिलोपल्ट आँखा खोल्दा थकान उस्तै महसुस हुन्छ । अनि लामो सास फेर्दै उसलाई म अनुरोध गर्छु– मेरो प्रिय भविष्य !आनन्दले निदाउँन त दिंदैनौ। बिहान ब्युँझिदा त कमसेकम पीडा नदेऊ । अहँ, ऊ पटक्कै मान्दैन ।

बेलुकी ननिँदाएसम्म अनि एकाबिहानै मानस्पटलमा उहीँ नै रहिरहनु पर्ने रे !

हरे ! कति प्रिय बनेर हरेक समय ऊ मेरो साथ बस्न खोज्छ ।

भविष्यमा के त्यस्तो शक्ति छ, जसलाई चाहेर पनि म नकार्न सकिरहेको छैन । म जे गरिरहेको छु, लाग्छ– उसकै आदेशअनुसार गरिरहेको छु ।

सुनौलो भविष्यको खोजीमा ती रमाइलो वर्तमान ओझेलमा परेछ क्यार । त्यसैले वर्तमान पनि मसँग रिसाएर कहिलेकाहीँ निहुँ खोज्ने गर्छ ।

वर्तमान भन्छ-‘सुनौलो भविष्यको खोजीमा रमाइलो वर्तमान बिर्सेर किन आँसु झार्छस् र म पनि त भोलि भूत हुने हो।’ रमाइलो वर्तमानलाई किन बेकारमा खेर फाल्दै छस् ! समयसँग हिँड्न सिक् ।

मैंले सोचेको भविष्य वर्तमानमा परिणत हुने भए र त्यो वर्तमान कहिल्यै भूत नभइदिने भए ?

लाग्छ– मैंले सोचेको त्यो भविष्य पूरा हुनु र आकाशका तारा गन्न सक्नु सायद उस्तै होला । भविष्य आफैँले भन्छ– यो असम्भव छ । मेरो के निश्चित ! जे गर्छस्, वर्तमानका लागि गर् अनि वर्तमानमै सोच्, वर्तमानमा नै बाँच्न सिक् ।

भविष्यका लागि पलपल मरेर बाँँच्न नखोज् । तेरा लागि वर्तमान सबथोक हो । तँ सँग वर्तमान जे जति छ, त्यसैमा खुसी हुन सिक् । भएको समयलाई माया अनि सम्मान गर्न सिक् । भविष्यको पछाडि लाग्नु भनेको नदीका दुई किनाराको कथा जस्तै हो । जसको कहिल्यै भेट हुन्न ।

भविष्यमा के छ कुन्नि । म भविष्यलाई चाहन्छु, वर्तमानलाई होइन । तर सुनौलो भविष्य पाउने आशामा वर्तमान अर्थहीन भएको थाहापत्तो नि पाउँदिनँ । आज म जे गर्दै छु, भविष्यका लागि गर्दै छु । अनि जे गर्न चाहन्छु, मात्र भविष्यका लागि ।

भूत र वर्तमानमा पूरा नभएका सपनाहरू भविष्यमा पूरा गर्ने आशाले घिस्रिरहेको छु । आशा न हो, जो पूरा नभए पनि आफैँसँग रहिरहने ।

तर भविष्य कति कठोर छ । मानसपटलमा जतिबेला नि आउने । तर वास्तविकतामा पाउन साह्रै मुस्किल ।

अनि फेरि गीतकार सुरज गैरेले लेखेको गीतका शब्द सम्झिन्छु– ‘जन्म र मृत्युबीचको कुरा, हुँदैन सबै चाहेका पूरा।’

मान्छे जन्मिन्छ, अनि मर्छ । यो निश्चित छ ।

तर भविष्य ‘खै के खै के!‘

आकार रहित अनि बिना जवाफको भविष्यले हरेक दिन सताइरहेको हुन्छ ।

थाहा छ, जन्मिएपछि एकदिन मर्नुपर्छ । तर जन्म र मृत्युबीचको समय कति लामो हुन्छ, थाहा हुन्न । त्यो बीचको समयमा हामी मानिस एकअर्काको खुट्टा तान्न, अरूलाई फसाउन, झुक्याउन अनि कुकर्म गर्न कति सिपालु भएका हुन्छौँ ।

सबैलाई थाहा भएको कुरा हो– मरेर जाँदा केही पनि लान मिल्दैन तर‘

सायद भविष्य खोज्ने क्रममा यस्ता कार्यमा संलग्न भएका हौँ कि ?

न हिजोको जस्तो आज छ जीवन,
न आजको जस्तो भोलि नै रहला ।

के होला कसो होला छैन भोलिको केही भरोसा,
तर पनि भोलिका लागि हरेक जना चिन्तित छौँ आज ।

लाग्छ, भोलिको दिन निश्चित छ । त्यसैले त हरेकले भविष्यका योजनाहरू बनाएका हुन्छौँ । नभए सबैलाई भोलिको किन चिन्ता ?

त्यही अनिश्चित भविष्यलाई निश्चित आकार दिने प्रयासका लागि कहाँबाट कहाँ पुगिरहेछन् मानिस । एउटै परिवारको सदस्य छुट्टिएर टाढा बस्न बाध्य छन् ।

लाग्छ– वर्तमानको भन्दा भविष्यको पीडाले मानिस दिनानुदिन चिन्तित छ ।

भविष्यमा केही राम्रो कुरा प्राप्तिका लागि वर्तमानमा मानिस सङ्घर्षशील छ । आज दुःख गर्दा भविष्यमा टनका टन खुसी थपिने आशामा छ मान्छे । मिठा–मिठा सपना बुन्दै कैयौँ रहरहरू सजाउँदै सुनौलो भविष्यको पर्खाइमा छौँ ।

सबैको प्यारोे व्यक्ति बन्न सकियोस् । भविष्यमा ठूला बङ्गला, गाडी अनि सुखी परिवार होस् । सबै कुराले पुगिरहोस् । भविष्यमा यी कुराहरू पूरा होऊन् भनेर कसले नसोचेको होला र !

भनिन्छ– जो वर्तमानमा रमाउन सक्छ, उसले जीवन राम्रोसँग जिउँछ । सायद हुन सक्छ । अनि म भविष्य त टाढाको कुरा हो भनी वर्तमान मात्र सम्झेर निदाउन खोज्छु । तर फेरि भविष्यले किन ब्युँझाउँछ ?

के साँच्चै भविष्य निश्चित छ त ?

भगवान् गौतम बुद्धको उपदेश– विगतमा ध्यान नदेऊ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाऊ ।

प्रतिक्रिया दिनुहोस्