गभर्नर अधिकारी निलम्बन गरिएकोप्रति एमाले अध्यक्ष ओलीद्वारा आक्रोश व्यक्त



काठमाडौं।पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले हटाएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको बताएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माप्रति इंगित गर्दै उनले ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भएको बताए । उनले भने, ‘थुतुनाभरी रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गरियो ।’
त्यस्तै गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इशारामा समिति गठन गरिएको ओलीले आरोप लगाए । बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा परेका हुन् ।

पूर्वन्यायाधीश भण्डारीलाई माओवादीनिकटको संज्ञा दिँदै ओलीले भने, ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने अर्थतन्त्र बुझेका मान्छेलाई निलम्बन गरियो । माओवादीनिकट भनेर चिनिएका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाइयो ।’

प्रतिक्रिया दिनुहोस्