थुलङ दुधकोशी-माप्य जोड्ने कायाखेत मोटरेबल पुल उद्घाटन
सोलुखुम्बु।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ रणेम र माप्य दुधकोशी गाउँपालिका ६ र ७ वाकु जोड्ने नवनिर्मित कायाखेत दुधकोशी मोटरेबल पुलको उद्घाटन गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष जुनितामाया मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

३० टन भारवहान क्षमता रहेको पुल ३६.५७ मिटर लामो रहेको छ । करिब साढे पाँच करोडको लागतमा जलप नेपाल कन्ट्रक्सनले निर्माण गरेको पुलमा संघीय सरकार स्थानीय पुर्वधार विकास साझेदारी कोषको १ करोड १० लाख, प्रदेश सांसद कोषको ५० लाख, प्रदेश सरकारको २ करोड र बाँकी रकम माप्यदुुधकोशी गाउँपालिकाले बेहोरेको बताईएको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद राजभण्डारीले निर्वाचन क्षेत्रको विकासमा आफुले कुनै कन्जुस्याँई नगरेको बताए । हिजो बजेटका कारण पुल बन्न ढिलाइ हुँदा आलोचना गर्ने पक्षलाई धन्यवाद दिदै पुलले जोडेको सडक सञ्जालले वाकुका नागरिकको जीवनशैलीमा अर्थ राख्ने बताए ।
जिल्ला समन्वय समिति संयोजक वीर कुमार राईले जनप्रतिनिधिको कामको प्रशंसा गर्दै कायाखेतमा पुलले वाकुको विकासमा दीर्घकालिन टेवा पुर्याउने बताए ।
कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सर्वपक्षीय विकासमा ध्यान दिएको दाबी गर्दै कुनै पनि विरोधले अर्थ नराख्ने बताए ।कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय सदस्य मानवीर राई, एमाले प्रदेश न.१ सचिवालय सदस्य महेश किराँती,नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटीका इन्चार्ज गौरव राई लगायतका बक्ताले सम्बोधन गरेका थिए।

