जनकपुरधाम : जयनगरबाट दुई घण्टामा आईपुग्यो रेल, भोलिदेखि दिनहुुँ दुई पटक सन्चालन हुने

काठमाडौं।नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट हरियो झन्डा देखाएर उद्घाटन गर्नुभएको रेल जनकपुरधाम आइपुगेको छ ।

भारतको जयनगरबाट जनकपुरधाम आइपुग्न रेललाई दुई घण्टा लाग्यो । हरेक स्टेसनमा भव्य रुपमा स्थानीयवासीले नेपाल–भारतको झन्डासहित ताली बजाएर स्वागत गरेका थिए ।
शनिवार दिउँसो करिब १ बजे भारतको जयनगरबाट गुडेको रेल दिउँसो ३ बजे जनकपुरधाम आइपुगेको हो । रेललाई नयाँ बेहुली झैँ सिँगारिएको छ ।
जनकपुरधाम पुगेपछि छात्र–छात्राहरूले नेपाल र भारतको झन्डासहित रेलको स्वागत गरेका थिए । रेल हेर्नका लागि बिहानैदेखि हजारौँको सङ्ख्यामा स्थानीयहरू रेल्वे स्टेसनमा पुगेका थिए ।
अब आइतबारदेखि दिनहुँ दुई पटक रेल सञ्चालन हुने छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेल संरचनाहरूको निर्माणमा ६ अर्ब भारतीय रकम हालसम्म खर्च भएको भारतीय कम्पनीले जनाएको छ ।

