एमाले अध्यक्ष ओली भन्छन्-‘हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्छौं’



काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा निश्चित रुपमा जित्ने दावी गरेका छन् ।

चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्दै मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’, ओलीले भने, ‘यिनीहरु ससाना समूहहरु हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ ।’ ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी समेत गरे।

‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अ‍ोलीले भने, ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कम्युनिस्टका नाममा रहेका पार्टीहरूको नामप्रति पनि कटाक्ष गरे ।‘जसको काम नै फाटोवादी उ एकीकृत, जुन प्रतिगामी छ उ समाजवादी’, अध्यक्ष ओलीले एकीकृत समाजवादीप्रति लक्षित गर्दै भने ।

‘नेकपा एमालेले कसरी जित्न सक्छ ? प्रगतिशिल शक्तिले कसरी जित्न सक्छ ? कुनै कुनै तथाकथित बुद्धिजीवीले लेख्छन्– कम्युनिस्टहरु मिल्ने कि समाप्त हुने ? भनेर’, ओलीले भने, ‘मोहन वैद्यको पार्टीसँग एमाले मिलेन भने एमाले समाप्त हुन्छ रे ? माधव नेपालको गुटसँग मिलेन भने एमाले समाप्त हुन्छ रे यो माधव नेपाललाई भनेको कि एमालेलाई भनेको यस्ता जिस्क्याउने काम नगर्न चेतावनी दिन्छु ।’ कम्युनिस्ट एकता बेकारको कुरा भएको पनि उनले बताए ।

‘कम्युनिस्ट सरकार ढाल्ने पनि कम्युनिस्ट ? ओलीको प्रश्न छ । दुई तिहाइ नजिक पुगेको पार्टीलाई चोइट्याउने त्यस्ता कम्युनिस्ट हुन्छन् ? भ्रम राख्नुहुन्न’, ओलीको भनाइ छ । नेता भुसालले कम्युनिस्टहरु नमिले समाप्त हुने लेख लेखेका थिए ।

उनले ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको दावी गरे ।उनले ५ दललाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको पनि बताए ।

अहिले सत्तारुढ दलका जनप्रतिनिधि एमालेमा प्रवेश गरिरहेको ओलीले बताए । ‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन्’, उनले भने, ‘त्यसकारण हामी जित्छौं, निश्चित रुपमा जित्छौं उनले भने,- ‘यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’

प्रतिक्रिया दिनुहोस्