राप्रपा: नवनिर्बाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न,यस्ता छन निर्णय



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले समान विचार भएका पार्टी तथा समूहहरूसँग एकता प्रक्रिया अघि बढाउने भएको छ । एकता महाधिवेशनपछि पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले समान विचार भएकाहरूसँग वार्ता गर्नका लागि महामन्त्री धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । समितिमा राणासहित सदस्यहरूमा ऋषि बाबु परियार, दिल विकास राजभण्डारी, पुष्पराज पुरुष र सीता ज्ञवाली रहेका छन् ।

बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र प्राडा गीताभक्त जोशी सदस्य सचिव रहेको स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य डा।राजेश गिरी र केन्द्रीय सदस्य भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति गठन गरेको छ ।

पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनुपर्ने रकम ‍लेबीको निर्धारण गर्न महामन्त्री कुन्तीकुमारी शाहीलाई संयोजक तोकिएको छ ।

पार्टीका सबै भातृ संगठनहरूलाई तीन महिनाभित्रमा अनिवार्य रुपले महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना र कार्यतालिका पेस गर्न १५ दिनको समय दिइएको छ ।

बैठकले पुस महिनाभित्र सबै प्रदेश कार्यसमितिहरुलाई विस्तारित बैठक बोलाउन निर्देशन दिने निर्णय गरेको छ ।

विभिन्न कालखण्डमा राप्रपामा आबद्ध रहेका, तर विभिन्न कारणले राप्रपा परित्याग गरेका, निष्क्रिय रहेका, अर्को पार्टीमा गई भूमिकाविहीन भएकाहरुलाई परिवर्तित सन्दर्भमा राप्रपामा फर्कन र सक्रिय रहन पनि बैठकले आह्वान गरेको छ ।

बैठकले महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र लक्ष्य प्राप्तिका लागि पुस महिनाको पहिलो हप्तासम्म बैठक राख्न र संगठनलाई गतिशील र चलायमान बनाउन जिल्ला कार्यसमिति, संघीय निर्वाचन क्षेत्रीय समिति, प्रदेससभा निर्वाचन क्षेत्रीय समिति र स्थानीय तहअन्तर्गतका समितिलाई निर्देशन दिएको महामन्त्री डा।धवलशम्शेर राणाले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्