प्रदेश १ : परिणामको बिषयमा प्रश्न उठेको भन्दै घिमिरेले गरे पुनः मत गणनाको माग
विराटनगर । कांग्रेसको प्रदेश(१ अधिबेशनमा सभापतिमा पराजित भएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले निर्वाचनमा सत्ताको चरम दुरूपयोग गर्ने काम भएको आरोप लगाएका छन् ।

सोमबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै घिमिरेले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति एउटा उम्मेदवारको पक्षमा खुलेर लाग्ने र मन्त्रीहरु निर्बाचनमा खटिनु सत्ताको दुरुपयोग भएको बताए।उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र, मर्यादित र स्वस्थ्य भए परिणामलाई जसले पनि स्वीकार गर्नुपर्ने भन्दै उनले परिणामको विषयमा प्रश्न उठेकोले पुनः मत गणनाको माग समेत गरेका छन् ।
घिमिरेले पुनः मतगणनको माग राखेको विषयलाई प्रदेशस्तरको निर्वाचन समिति र केन्द्रीय निर्वाचन समितिले सकारात्मक रूपमा लिएको बताए । “पार्टी नेतृत्व तहमा पनि मेरो मागको विषयमा कुरा पुगेको छ । यसले चाँडै निकास पाउँछ भन्ने विश्वास छ,” उनले भने ।
उनले गुट विशेषलाई बलियो बनाउने गरी काम हुँदा आम कार्यकर्तामा निरासा छाएको जिकिर गरे । उनले आफू राज्यको कुनै ओहदामा नपुगेको तर तल्लोस्तरबाट राजनीतिमा उठेकोले आफू निष्ठावान भएर अब प्रदेशमै रहेर काम गर्ने बताए ।

