सोलुखुम्बु कांग्रेसको सभापतिका लागि आज पुनः मतदान हुँदै,बस्नेत र शेर्पाबीच कडा टक्कर

सोलुखुम्बु ।नेपाली कांग्रेस सोलुखुम्बु को सभापति चयनका लागि आज सदरमुकाम सल्लेरीस्थित समिक्षाहलमा १० बजेदेखि पुनः मतदान सुरु हुनेभएको छ।

गत मंसिर २ गते १४ औं जिल्ला अधिबेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसकेपछि दोश्रो चरणमा आज मतदान हुन लागेको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।तीन वा सो भन्दा बढी उम्मेदवार भएको खण्डमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेको खण्डमा पुनः मतदान गर्नुपर्ने कांग्रेसको बैधानिक प्रावधान छ।यही प्रावधान अनुसार सभापतिका ३ दावेदारमध्ये कुनै पनि उम्मेदवारले २ गतेको निर्बाचनमा ५१ प्रतिशत पुर्याउन सकेका थिएनन्।
यसअघिको निर्बाचनमा बिनोद बस्नेत,नाम्गेलजाङ्बु शेर्पा र रामबहादुर बस्नेत सभापतिका दावेदार थिए।खसेको ८८२ मत मध्ये बस्नेतले ४२८ शेर्पाले ४१८ र बस्नेतले ५ मत प्राप्त गरेका थिए।५ मत प्राप्त गर्ने बस्नेत अब प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।उनी बाहिरिएसंगै बस्नेत र शेर्पाबीच अब कडा प्रतिस्पर्धा हुंदैछ।सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका बस्नेतले शेर्पालाई सहयोग गर्ने घोषणा गरेका छन् ।
सोलुखुम्बु कांग्रेसको सभापतिका लागि समूहगत प्रतिस्पर्धा छ। छुट्टाछुट्टै समूहको नेतृत्व केन्द्रीय सदस्य बलबहादुर केसी र पूर्ब सभापति आङगेलु शेर्पाले गरिरहेका छन् ।केसीसमूहबाट बस्नेत र शेर्पा समूहबाट शेर्पा नै प्रतिस्पर्धामा छन् ।यसअघि सार्बजनिक नतिजाकै आधारमा पनि बस्नेतले सहजै सभापति जित्ने केसी समूहको दावी छ भने आफ्ना धेरै मत अघिल्लो निर्बाचनमा बदर भएको र अघिल्लो पटकका सभापतिका दावेदारको समर्थनसहित अन्य मतदाताको आकर्षण आफुहरुतिर रहेका कारण जित हांसिल गर्न कठिन नरहेको शेर्पा समूहको निष्कर्ष छ।

